
दोधारा चाँदनी (कञ्चनपुर) । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् ।
यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका-८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताउनुभयो ।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका-३ स्थित पटराखल्लाका १५ घर डुबावनमा परेका छन् । उहाँका अनुसार भीमदत्त नगरपालिका-११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन् । “दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन्, उहाँहरूलाई नजिककैको विद्यालयमा राखिएको छ ।” उहाँले भन्नुभयो, “डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।”
दोधारा चाँदनी नगरपालिका-३ पटराखल्लाका घरपरिवारका ५५ जना, उनका सरसामान र चौपायासमेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको उहाँले बताउनुभयो ।
महाकालीमा बढ्यो जलस्तर
अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले नदीमा पानीको सतह बढेर एक लाख ४० हजार २५० क्युसेक पुगेको बताउनुभयो ।
नदीमा पानीको बहाव एक लाख क्युसेकपुेपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको छ । रासस