RayNewsDaily
१८ देखि ३५ बर्ष उमेर समूहकालाई मात्र युवा भनिने

काठमाडौं । युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति- २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८-३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।     
     
यसअघि ‘राष्ट्रिय युवा नीति-२०७२’ अनुसार युवाको उमेर १६-४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो । राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकुल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ’, भनेर उल्लेख छ ।     
     
२०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसङ्ख्या ४२.५६ प्रतिशत थियो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसङ्ख्या निकाल्न आग्रह गरिएको बताउनुभयो ।     
     
बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म भएको हुनाले १८ बर्षदेखि ३५ उमेर समूहलाई युवामा राखिएको उहाँको भनाइ छ । संयुक्त राष्ट्रय सङ्घले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । भारतमा १५ देखि २४ बर्षको उमेर समूहलाई युवा मान्दै आएको छ ।     
     
परिषद्का उपाध्यक्ष बस्नेतले ‘राष्ट्रिय युवा परिषद् ऐन-२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानूनी रुपमा भने १६ देखि ४० बर्ष हुने बताउनुभयो । “युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्दछ,” उहाँले भन्नुभयो ।     
     
प्रत्येक पाँच/पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भएपनि १० बर्षपछि नीति संशोधन गरिएको हो । रासस

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update