RayNewsDaily
अरिङ्गालको परिकारको स्वाद चाख्न बेनी आउने कि !   

सन्तोष गौतम/म्याग्दी ।  म्याग्दीमा अरिङ्गालको परिकार पाहुनाको रोजाइमा परेको छ । होटललाई अरिङ्गालको माग धान्न र पुर्याउन हम्मे परेको छ ।    
होटल तथा रेष्टुरेन्ट ब्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिङ्गाल हुने गरेको बताउनुभयो ।    
    
 “स्थानीयबासी मात्र नभएर अरिङ्गालको स्वाद लिनका लागि छिमेकी जिल्लाबाट पनि पाहुना बेनी आउनथालेका छन्,” उहाँले भन्नुभयो, “स्वादिलो र तागतिलो हुने भएकाले अरिङ्गालको उपभोग बढेको छ ।” थापाद्वारा सञ्चालित होटलमा दैनिक १० देखि २० प्लेटसम्म अरिङ्गाल बिक्री हुन्छ ।    
    
 प्रतिप्लेट फ्राई अरिङ्गालको मूल्य रु ६०० देखि ७५० सम्म पर्छ । अग्ला रुखमा चढेर शिकारीले अरिङ्गालको लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन् । फ्राई गरेको अरिङ्गालको लार्भा शक्तिव्रद्र्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ ।    
    
 खबरा, लामाखेत, अर्थुङ्गे, जामुनाखर्क, बैसरी, माझखर्क, रिसिनचौतारीका युवाले अरिङ्गालको गोला बेच्न बेनीमा ल्याउँछन् । सिङ्गा, बरङ्जा, कुहुँको अरिङ्गाल तातोपानी र ताकम, धारापानी, बिम, देविस्थान, निस्कोट, अर्मनको अरिङ्गाल दरवाङ, बाबियाचौरको होटलमा खपत हुन्छ ।    
    
 गोलासहितको एक किलो अरिङ्गाल रु तीन हजारदेखि तीन हजार ५०० मा बिक्री हुने गरेको अरिङ्गाल शिकारी तमबहादुर पुनले बताउनुभयो । अरिङ्गाल शिकार गर्ने र पाल्नेले लार्भा बेचेर एक याममा रु एक लाखभन्दा बढी आम्दानी गर्छन् ।    
    
 बेनी-६ जामूनाखर्कमा व्यवसायिक रूपमा अरिङ्गालपालन गरेका अशोक र गीता पाइजा शाहीले माग धान्नै नसकेको बताउनुभयो । गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका शाही दम्पतीले यो वर्ष २५ गोला पालेर एक क्विटल लार्भा बेच्ने लक्ष्य राख्नु भएको छ ।    
    
 एक गोलाबाट एक पटकमा आठ किलोग्रामसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई/दुई महिनामा लार्भा निकाल्न सकिन्छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगालका लार्भा कात्तिकसम्म ब्यापार हुन्छ ।    
    
 अरिङ्गाल पाल्नु र शिकार गर्नु सजिलो काम भने होइन । रुखको टुप्पा, भिरमा हुने अरिङ्गाल शिकार गर्दा र सार्दा सावधानी अपनाउनुपर्छ । अरिङ्गाल रिसाएर टोक्यो भने ज्यानै जान पनि सक्छ । अरिङ्गाल शिकार गर्नेका लागि बजारमा पोशाक किन्न पाइने भएकाले जोखिम घटेको र सजिलो भएको छ । रातो र कालो जातका अरिङ्गाल हुन्छन् ।    
    
 आगोले गोला पोलेर शिकार गर्दा अरिङ्गाल मासिने, टोकेर घाइते हुने, रुखमा चढ्दा लडेर घाइते तथा ज्यान जाने जोखिम पनि उत्तिकै छ । रासस   

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update