RayNewsDaily
संकटग्रस्त अवस्थामा कुसुन्डा परिवार        

प्रतीक्षा आले/गोरखा ।  ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा पनि गाउँले किसानहरुलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा । गोरखा नगरपालिका-११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर । आफूजस्तै दिनरात श्रम गरेर खाने दौंतरीहरुसँग उहाँको समय बित्छ ।     
     
लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एक घर मात्र छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्दै आउनुभएको छ । घरले चर्चेको बाहेक कति पनि जग्गा नभएका उहाँलाई असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के । “थुक्ने जग्गा पनि आफ्नो छैन”, उहाँ भन्नुहुन्छ, “सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गामा सरकारले बनाइदिएको सानो घर र दुई/चारवटा कुखुरा छन् । त्यत्ति हो । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छ ।”     
     
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ रहेको छ । तीमध्ये गोरखाका चेतबहादुरको आठ सदस्य पनि विगत ४५ वर्षदेखि यही बसोबास गर्दै आएको छ । उहाँ २०३८ सालमा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आउनुभएको थियो । आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको चेतबहादुर बताउनुहुन्छ । ‘‘१० वर्षको हुँदा बा बित्नुभयो, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ”, उहाँले भन्नुभयो, “यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन् । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’ भनेपछि जानै प¥यो ।”     
     
उहाँका दिदीबहिनी दुवैले तेह्रकिलो बजारमा बिहे गरेकाले आफूहरु पनि दिदीबहिनी नजिकै बस्न आएको उहाँले बताउनुभयो । “दुवैजनाले क्षेत्रीसँग बिहे गरेछन् । दिदीको बुढा गाडी चालक थिए, हामी पनि दिदीकै रेखदेखमा यहीँ बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर सवारी सहयोगीको काम गरेँ”, उहाँले भन्नुभयोे ।     
     
खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरु नवलपरासी पनि पुगेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नहुन्छ, “यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेपछि हामी आमा छोरा नवलपरासी पनि झर्‍यौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो । आमाले अरूको घरमा काम गर्नुहुन्थ्यो । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन, अनि एक वर्षपछि तेह्रकिलोमै फर्कियौँ । म यहाँ आको केही वर्षपछि आमा पनि फर्किनुभयो ।”     

चेतबहादुरले २०-२२ वर्षको उमेरमा नजिकैको पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गर्नुभयो । बिहेपछि पैसा कमाउने लालसाले दुईपटक कतार र एकपटक साउदी पनि पुग्नुभयो । चेतबहादुर र कमलाको दुई छोरा र एक छोरी छन् । उहाँहरुको जेठो छोरो अनिल अर्काको गाडी चलाउँछन् । छोरी अनिता तेह्रकिलोकै मगर परिवारमा बिहे गरेर गएकी छिन् भने कान्छो छोरो अशोक हाल वैदेशिक रोजगारीमा छन् । हाल उहाँको परिवारमा दुई छोरा, बुहारीहरु, तीनजना नाति र एक नातिनी छन् ।     
     
हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको उहाँले बताउनुभयो । उहाँलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । न उहाँले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ गरेका छन् । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखेर भने उहाँ खुसी हुनुहुन्छ । ‘‘अन्ततिरको कुसुन्डाहरुले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउबाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिको बारेमा केही थाहा हुन्थ्यो होला”, उहाँले भन्नुभयो । आफूहरुले अरू हिन्दूहरुसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “दसैँ, तिहार सबै मनाउँछौँ । अरूहरुले सरह नै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौं । हाम्रो कुलायन पूजामा चाहिँ भाले चढाउनु पर्छ ।” रासस   
 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update