RayNewsDaily
गुल्मीमा कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध    

गुल्मी । अविरल वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि आज उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     
     
सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रमा अहिले दुवैतर्फका सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक सञ्चालन गर्नका लागि सडक निर्माण कम्पनीबाट स्काभेटर तयारी अवस्थामा राखिएको भए पनि पानी परिरहेको र सडक माथिबाट पहिरो खसिरहेका कारण तत्कालै सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।     
     
त्यसैगरी जिल्लाको मुख्य सडकअन्तर्गत रिडी-वामीटक्सार खण्ड पनि अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका-६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि आज उक्त सडक पनि पूर्ण रुपमा अवरुद्ध बनेको सूचना अधिकारी सारुले बताउनुभयो ।     
     
डहरे खोलामा लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बुटवल जाने र रिडी हुँदै बागलुङको बुर्तिबाङसम्म आवतजावत गर्ने सवारीसाधन यतिबेला बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ । डहरे खोलाले गत साता एउटा कारसमेत बगाइदिएको थियो । अवरुद्ध सडक सञ्चालन गर्नका लागि जिल्ला प्रहरी कार्यालयले जोहाङ् खैरेनी र पुर्तीघाटबाट प्रहरी टोली परिचालन गरिसकेको जनाएको छ ।     
     
जिल्ला प्रशासन कार्यालयले वर्षाको समयमा खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । त्यसैगरी वर्षाका कारण बडिगाड खोला र कालीगण्डकीमा पनि पानीको सतह बढ्दै जान थालेको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update