RayNewsDaily
भोलिसम्म मुलुकका ६ वटा नदीमा बाढीको जोखिम    

काठमाडौं । बुधबारसम्म मुलुकका छवटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ ।     
     
विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि दिउँसो ३ः०० बजेदेखि नदीको जलसतह घटेको जानकारी गराउनुभयो ।     
     
“बबई नदीमा ५ दशमलव ५ मिटर चेतावनीको तह र ६ दशमलव ८ मिटर खतराको तह मापन गरिन्छ । तर, आज मध्याह्नसम्म ७ दशमलव १ मिटर पुगेको थियो । अहिले भने जलसतह घटेर ६ दशमलव ६२ पुगेको छ,” उहाँले भन्नुभयो, “आज काभ्रेपलान्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।”     
     
बाढीविद् पराजुलीका अनुसार बाढीको उच्च जोखिम रहेका क्षेत्रमा पूर्वसूचना प्रवाह भइरहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update