इनरुवा (सुनसरी) । लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो ।
वर्षा नभएका कारणले अकासे पानीको भरमा खेती गर्दै आएका किसानलाई शनिबारदेखि भएको वर्षाले ठूलो राहत भएको भोक्राहा नरसिंह गाउँपालिकाका किसान सुरेन्द्र उराँवले बताउनुभयो । पानी नभएर रोपाइँ गर्न नपाएका किसान समेत अहिले रोपाइँ गर्नका लागि जुटेको स्थानीय किसान बबलु खड्गाले बताउनुभयो ।
पानीले नभएकाले सुक्न थालेको रोपो र बीउ समेत जोगाउनका लागि मद्दत पुगेको र रोपाइँ गर्न बाकी रहेका किसान समेत रोपाइँमा जुटेको स्थानीय चन्दन मेहताको भनाइ छ । भूमिगत सिचाइँको प्रयोग गरेर केही किसानखेती गरेको भए पनि पानी अभावका कारणले खाद्यमल प्रयोग गर्नका लागि समेत समस्या हुँदै आएको थियो ।
पानी परेपछि धान रोप्न बाँकी क्षेत्रमा काम सुरु भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले बताउनुभयो । जिल्लामा नहरबाट पानी लाग्ने र मोटर तथा पम्पसेट चल्ने क्षेत्रमा निरन्तर धान रोपाइँ भइरहेको छ भने आकाशेपानीले अन्य ठाउँमा समेत धान रोपाइँ गर्न सहयोग भएको छ । पानी परेपछि सुक्खा रहेको खोलानालामा जलसतह समेत बढेको छ ।
सुनसरी सदरमुकाम इनरुवा र भोक्राहाको सीमामा रहेको सुनसरी खोला, बूढी खोला, सप्तकोशी नदी, कोसी कटान क्षेत्र, मरिया खोला, गडनलगायतका खोलानालामा पानीको सतह बढेको स्थानीयवासीले बताएका छन् ।
मधेसमा धमाधम धान रोपाइँ
पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन् । पानीको अभावमा मधेस प्रदेशमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत पनि धान रोपाइँ नभएकामा पानी परेपछि रोपाइँ ६३ प्रतिशत पुगेको मधेस प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।
पानी परेपछि देशको प्रदेशका आठवटै जिल्लामा धमाधम धान रोपाइँ भइरहेको निर्देशनालय वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले बताउनुभयो । उहाँका अनुसार बारा र पर्सामा धान रोपाइँ सकिएको छ भने अन्य जिल्लामा धान रोपाइँ धमाधम भइरहेको छ ।
लामो समयदेखि पानी पर्न नसक्दा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यसपछि प्रदेश सरकारले कृषिज्ञान केन्द्रमार्फत खेतीका लागि स्यालो ट्युबबेल वितरण सुरु गरेको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।
विगतमा साउनको दोस्रो हप्तासम्ममा धानको रोपाइँ सकिने भएपछि यसपटक पानी नपर्दा ढिलाइ भएको हो । मधेस प्रदेशका जिल्लाहरुमा नदी, नहर, डिप ट्युबबेल बोरिङ तथा स्यालो ट्युबबेललगायत विभिन्न माध्यमबाट जमिनमा मात्र सिँचाइ सुविधा पुगेको तथा ६५ प्रतिशत खेतमा आकाशेपानीको भरमा धानखेती हुँदै आएको छ । रासस