
पर्वत । यहाँको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएकोे छ ।
अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्ने भएका छन् । हालसम्म उपलब्ध परीक्षणसम्बन्धी सेवा पर्याप्त नहुँदा आधुनिक र थप परीक्षणका लागि पोखरा वा अन्य ठाउ जानुपर्ने बाध्यता अब हटेको अस्पतालले जनाएको छ । अस्पतालमा हालै थपिएका प्रयोगशालासम्बन्धी सेवाले धेरै बिरामीलाई जिल्लाकै उपचारले थप राहत प्रदान गर्ने भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले बताउनुभयो ।
उहाँका अनुसार नयाँ थप गरिएका परीक्षण सेवामा भिटामिन डी, भिटामिन बी-१२, पीएसए, बी-एचसीजी, एन्टी टिपिओ, आइरन प्रोफाइल, एएनए, एन्टी डीएसडीएनए, फेरिटिन, सीआरपी क्वान्टिटेटिभ, आरए क्वान्टिटेटिभ तथा रेटिकुलोसाइट काउन्ट जस्ता विश्लेषणात्मक परीक्षण समावेश गरिएका छन् ।
यी परीक्षणबाट विशिष्ट स्वास्थ्य समस्याको पहिचान गर्न सहज हुने अस्पतालले जनाएको छ । यस सुविधामार्फत कुश्मा तथा आसपासका जिल्लाका सर्वसाधारणले उपत्यका वा अन्य सहर जानुपर्ने झन्झटविना अत्याधुनिक प्रयोशाला परीक्षण सेवा सुलभ रूपमा प्राप्त गर्न सक्ने भएका छन् ।रासस