-1754110931.jpg)
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबर खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ ।
ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपंक्षी फार्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबर खुर्सानी पाक्न थालेपछि उहाँ बजारको खोजीमा हुुनुहुन्छ । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-९ बनौका निर्मल पुन पनि फार्ममा फलेको अकबर खुर्सानी बेच्न बेनी, बागलुङ र कुश्मा बजारमा भौतारिनुभएको छ ।
शिवाङका ओमराज र बनौका निर्मलको जस्तै बजार अभाव अकबर खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ । बनौँ, शिवाङ र बेनी नगरपालिका-३ भकिम्लीमा अकबर खुुर्सानीको व्यावसायिक खेती भएको छ ।
“गत वर्ष परीक्षणका लागि लगाएको ९० वटा बिरुवाको अकबर बेचेर रु ३० हजार आम्दानी भएपछि यसपाली छ रोपनीमा १२ हजार बिरुवा लगाएको छु”, उहाँले भन्नुभयो, “स्थानीय बजार सानो छ । खपत थोरै हुुन्छ । धेरै खपत हुने ठूला सहरका व्यापारी र अचार उद्योग सञ्चालकसँग सम्पर्क नहुँदा समस्या भएको छ ।”
यस क्षेत्रमा यसअघि व्यावसायिक अकबर खुुर्सानीखेती भएका थिएन । घरायसी उपभोगका लागि मात्र अकबर खुुर्सानीखेती गरेका थिए । बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पूर्वी पहाडी जिल्लाबाट अकबर खुर्सानी आयात हुने गर्छ । आयातित खुुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्नुपर्ने अर्को समस्या रहेको छ ।
स्थानीय किसानहरूले रासायनिक मल र विषादीको विकल्पमा जैविक विधिबाट खुुर्सानीखेती गरेका छन् । रोग र किराबाट बचाउन खिर्राको पात, तितेपाती, गाईभँैसीको गहुँतको प्रयोगका साथै झार उम्रिन नदिन ‘मल्चिङ’ प्रविधि प्रयोग गरेका छन् ।
खुर्सानीको बोटभन्दा अन्य भागको जमिनमा झार पलाउन नदिन प्लास्टिकले छोपेर मल्चिङ गरिएको हो । प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने किसान ओमराजले बताउनुभयो ।
स्थानीय बजारमा अकबर खुर्सानीको मूल्य प्रतिकिलो रु २५० देखि रु ३०० छ । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबर खुर्सानीखेती गर्न सकिन्छ । तरकारी, दाल, अचारमा ताजा खुर्सानीको प्रयोग हुन्छ ।
राससका अनुसार जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले अकबर खुुर्सानीको बजारीकरणका लागि स्थानीय व्यापारीका साथै पोखरा, काठमाडौँका बजार र अचार उद्योगीलाई कृषकको सम्पर्कमा ल्याउन पहल गरिरहेको बताउनुभयो । खुुर्सानीखेतीका लागि मल्चिङ, खनजोत गर्ने उपकरण र रोगकिरा नियन्त्रणका लागि परामर्शका साथै प्राविधिक सहयोग गरेको उहाँले बताउनुभयो ।