RayNewsDaily
दिदीबहिनी मृतावस्थामा फेला परे

भादगाउँ (भक्तपुर) । यहाँको मध्यपुर थिमि नगरपालिका-९ सिन्टीटारमा डेरा गरी बस्ने दुईजना किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् ।

स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका-८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन् । मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताउनुभयो ।

घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ । मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरु आएपछि घटनास्थलको मुचुल्का हुने प्रनाउ ढुङ्गानाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update