RayNewsDaily
आम्दानीको स्रोत ‘अकबरे’ खुर्सानी

भोजपुर । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो ।

स्थानीय बजारमा प्रतिकेजी दुईदेखि चार सय रुपैयाँसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको बताउनुभयो । उत्पादन भएको खुर्सानीको बजारमा राम्रो माग रहेकाले आफू यसतर्फ लागेको उहाँको भनाइ छ ।

समग्रमा पालिका क्षेत्रमा करिब नौ सय कृषकले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहेका छन् । खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका उनले बताए ।

पौवादुङमाका एकजना किसानले न्यूनतम १ लाख ५० हजारदेखि ७ लाख रुपैयाँसम्म खुर्सानी खेतीबाट भित्र्याउने गरेको पौवादुङमा-४ बास्तिमका ध्रुव राईले जानकारी दिनुभयो । ‘खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि मैले पनि २० रोपनीमा खुर्सानी विस्तार गरेको छु । यो वर्ष आठदेखि दश लाख आम्दानी गर्ने लक्ष्य छ’, उहाँले भन्नुभयो, ‘बाह्र रोपनी क्षेत्रमा विस्तार गरेको खुर्सानी खेतीबाट गत वर्ष पाँच लाख आम्दानी गरेको थिएँ ।

गत आर्थिक वर्षमा ६ सय हेक्टर क्षेत्रमा लगाइएको करिब २५ करोड बराबरको खुर्सानी बिक्री भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्र प्रमुख मुकेशकुमार यादवले यस वर्ष जिल्लाभर छ सय नौ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती भइरहेको बताउनुभयो । ‘खेती विस्तार भइरहेको छ । रोग, किराको प्रकोप नियन्त्रण गर्न सकिएमा यस वर्ष २८ देखि २९ करोडको हाराहारीमा खुर्सानी उत्पादन हुने आङ्कलन छ’, उहाँले भन्नुभयो।

राससका अनुसार यहाँका पौवादुङमा गाउँपालिकामा अकबरेको बढी खेती भइरहेको छ भने भोजपुर नगरपालिका र अरुण गाउँपालिकालगायत क्षेत्रमा पनि खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित खुर्सानी ठेकेदारमार्फत धरान, इटहरी, विराटनगर, झापा, बिर्तामोड, काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update