
काठमाण्डू । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आज राति अनुगमनमा निस्किनुभएको छ ।
आज राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्णशम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गर्नुभएको हो ।
अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परीक्षण सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिच्छाइएको प्राइमरी पाइपलाइन (३१५ मिमि/२८० मिमि (एचडिइपी) को निर्माण कार्य तेर्सो दिशात्मक ड्रिलिङ्ग (एचडिडि) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र चाँडै मेलम्चीको खानेपानी वितरण गरिने तयारी रहेको अनुगमनमा आफूले जानकारी पाएको मन्त्री यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बालुवाटारलगायत क्षेत्रमा पाइपलाइन बिच्छाउने काम सफल भएको पाइयो । ती क्षेत्रमा अब चाँडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु ।”
राससका अनुसार पाइपलाइनको दबाब परीक्षण (प्रेसर टेष्ट) को तयारी तथा सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेष्ट सफलतापूर्वक सम्पन्न भएपछि ‘डिएमए एच–२’, ‘आई–३’, ‘आई–४’ र ‘आई–५’ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्णशम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिनुभयो ।
उपाध्यायका अनुसार पानी वितरण पश्चात उक्त क्षेत्रका करिब तीन हजार पाँच सय घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । काठमाण्डू उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्य अनुरूप उक्त पाइपलाइन बिच्छाउने कार्य गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का आयोजना प्रबन्धक अमित रञ्जितले जानकारी दिनुभयो ।