RayNewsDaily
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताद्वारा राजीनामा
तस्वीर गुप्ताको फेसबु्कबाट साभार ।

रे समाचार/काठमाडौं । घुस लेनदेन सम्बन्धी अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभएको छ । मन्त्री गुप्ताले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराउनुभएको हो ।

उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि मन्त्री गुप्ताले राजीनामा दिनुभएको हो । 

मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गर्नुभएको छ । ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु’, मन्त्री गुप्ताले लेख्नुभएको छ ।

Guptako-1752567576.JPG
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिनुभएको थियो । त्यसपछि मन्त्री गुप्ताले राजीनामा दिनुभएको हो ।
प्रधानमन्त्री ओली सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठकमा भाग लिन जानुभएकाले उहाँले राजीनामा पत्र बालुवाटारमै छाडेर हिँड्नुभएको थियो  ।

मन्त्री गुप्ता मुछिनुभएको उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ । साथै, यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ ।

केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।
अडियोमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारी समेत मुछिए पनि उहाँले राजीनामा दिनुहुन्छ वा दिनुहुन्न भन्नेबारे स्पष्ट भइसकेको छैन । 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update