RayNewsDaily
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु   

देउखुरी (दाङ), २०८२ असार ३१ गते मंगलबार । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुईजना किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका-४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका-२ निवासी १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगर रहेका छन् ।    
    
साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेर हराएको हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीले जानकारी दिनुभयो । शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।    
    
त्यसैगरी मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । रामपुर-घोराही सडकको सिस्नेखोला पुलमा दुर्घटनामा परी गढवा गाउँपालिका-८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको हो । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो ।    
    
राससका अनुसार रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा७प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका-४ सिस्नेखोलामा बेलुका ७ः०० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुवै जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।    

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update