RayNewsDaily
रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो        

काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ ।     
     
नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्य रातभर बाढी प्रभावित क्षेत्र रसुवामा खटिएर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको छ । मङ्गलबार दिउँसो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र ऊर्जामन्त्रीसँगै हेलिकप्टरमा रसुवागढी नाका पुग्नुभएका उहाँले त्यहाँको क्षतिका बारेमा जानकारी लिनुभएको हो ।     
     
प्रधानमन्त्री केपी शर्मा ओेलीले खोज तथा उद्धारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् संरचना तथा जलविद्युत् आयोजना मर्मत, पुनःस्थापना र सम्भावित थप जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तत्परताका साथ अगाडि बढाइने बताउनुभएको थियो ।     
     
रसुवाबाट प्रतिनिधिसभाको सांसदमा निर्विाचित हुनुभएका आचार्य गएराति रसुवागढी नाकामा बास बसी प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग घटनाका विषयमा जानकारी लिँदै आगामी योजनाका बारेमा छलफल गर्नुभएको थियो ।     
     
बाढीपहिरोका कारण हाल गोसाइँकुण्ड गाउँपालिका-२ मा पर्ने रसुवागढी, टिमुरे, घट्टेखोला क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै टेलिफोन सेवाले समेत काम नगरेको सांसद आचार्यले बताउनुभयो । उहाँका अनुसार बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल, रसुवागढी जलविद्युत् आयोजनाको बाँध, इन्टेक, ट्रान्सपोर्ट र भन्सारमा ल्याएर राखिएका गाडी बगाएका छन् ।     
     
यस्तै, उक्त बाढीमा परेर नौ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । बाढीले रसुवागढी नाकाबाट स्याफ्रुबेंसीसम्मको बाटोमा क्षति पुर्याएको छ भने सो स्थानमा आवतजावतसमेत बन्द भएको सांसद आचार्यले जानकारी दिनुभयो । नयाँ बाटो निर्माण गर्न नसकेसम्म आवतजावतमा समस्या हुने उहाँको भनाइ छ । रासस

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update