
रे विशेष सम्वाददाता/आली, तिब्बत, चीन । "Walk China Towards Modernization-Xizang Tour" अन्तर्गत नेपाली तथा भारतीय सञ्चारकर्मीहरु तिब्बतको पर्यटकीय नगरी आली पुग्नु भएको छ ।
तिब्बत (Xi Zhang) को राजधानी ल्हासाबाट आली पुग्नु भएका सञ्चारकर्मीहरुलाई आली विमानस्थलमा कार (Gar) काउन्टीका सञ्चार तथा प्रचार प्रसार विभागका पदाधिकारीहरुले भव्य स्वागत गर्नुभएको थियो । नेपाली सञ्चारकर्मीहरुसँगै तिब्बतका लागि नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौला र उहाँकी धर्मपत्नी विमला ढुंगेल विशेष अतिथीका रुपमा भ्रमणमा सहभागी हुनुहुन्छ ।
आली नगरी पुगे लगत्तै आजै नेपाली सञ्चारकर्मीहरुले कार (Gar) काउन्टी पर्यावरणीय कृषि उद्योग पार्कको अवलोकन गर्नुभएको छ । उक्त कृषि पार्क समुद्र सतहबाट ४३८० मिटरको उचाईमा स्थापना गरिएको छ । अत्याधुनिक हरित गृह (Green House) प्रविधि अपनाएर स्थापना गरिएको उक्त पार्कमा व्यावसायीक रुपमा तरकारी र फलफूलको उत्पादन गरिंदै आएको छ भने पुष्प उद्यान पनि सञ्चालन गरिएको छ । सो कृषि पार्कमा सिँचाई, मलवीऊका अतिरिक्त न्यून तापक्रमबाट विरुवालाई जोगाउन सूर्यको प्रकाश छिर्न सक्ने ग्रिन हाउसहरु बनाईएका छन् ।
सो पार्कका किसान तथा विक्रि प्रबन्धकहरुले महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौला र उहाँकी धर्मपत्नी विमला ढुंगेललाई सोही पार्कमा उत्पादन गरिएको खरबुजा र काँक्रा काटेर खान दिएका थिए । सो कृषि उद्योग पार्कको अवलोकन भ्रमणपछि रे मिडिया ग्रुपलाई प्रतक्रिया दिनुहुँदै महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले मुस्ताङको भू-वनौट उचाईसँग मिल्दो स्थानमा स्थापना गरिएको ग्रिन हाउस प्रविधि नेपालका लागि समेत उपयोगी हुने बताउनुभयो ।
आलीजस्तो उच्च भू-भागमा चीनको तिब्बत तथा केन्द्रीय सरकारले विशेष महत्वका साथ स्थापना गरिएका यस्ता कृषि पार्कहरुले स्थानीय जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएका छन् ।
कषि क्षेत्रमा गरिएका यस्ता महत्वपूर्ण प्रयासहरुले अहिले आली नगरीमा तरकारी, फलफूल र फूलहरुको आपूर्ती व्यवस्था सहज भएको छ ।