
रमेश हुतुवाली/ काठमाण्डू । काठमाण्डूस्थित रे टेलिभिजनको कार्यक्रम तथा डकुमेण्ट्री उत्पादन टोली चीनको स्वायत्त प्रदेश तिब्बतको सदरमुकाम ल्हासा पुगेको छ ।
रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलको नेतृत्वमा रहेको पाँच सदस्यीय सो टोली “वाकिङ थ्रु चाइना-तिब्बत जर्नी अन्तर्गत” आज दिउसो ल्हासा पुगेको हो । सो टोलीलाई चाइना मिडिया ग्रुपको तिब्बत कार्यालयका प्रतिनिधिहरुले तिब्बतको ल्हासा कोङ का अन्तर्राष्ट्रिय विमानस्थल (Lhasa Gonggar International Airport 拉萨贡嘎国际机场) मा भव्य स्वागत गर्नुभएको थियो ।
“समृद्धि र खुशीको बाटोमा चीनको तिब्बत” शीर्षकमा रे टेलिभिजनको टोलीले चाइना मिडिया ग्रुपको टोलीसँग मिलेर तिब्बतका विश्व विख्यात ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रका बारेमा महत्वपूर्ण अध्ययन तथा अन्वेषण गरी विभिन्न कार्यक्रम र वृत्तचित्रहरू छायाङ्कन गर्ने कार्यक्रम रहेको छ ।
रे टेलिभिजनको मिडिया साझेदार संस्था चाइना मिडिया ग्रुप अन्तर्गत नेपाली विभागका प्रमुख लिउ विन सुमेघाको नेतृत्वमा नेपाली विभागका विदेशी भाषा विशेषज्ञ चेतनाथ आचार्य र कार्यक्रम सञ्चालकद्वय राधिका तथा शान्ति पनि चीनको राजधानी पैचिङबाट सछुवान प्रान्तको सदरमुकाम छन्तु हुँदै आजै ल्हासा पुग्नु भएको हो ।
दुवै टोलीले झण्डै तीन हप्तासम्म ल्हासास्थित पोतला दरबार, नेपाली राजकुमारी भृकुटीले निर्माण गर्नुभएको जोखाङ गुम्बा, तिब्बत म्युजियम, कैलास पर्वत लगायतका दर्जनौं क्षेत्र र सम्पदाहरुको अध्ययन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी दुवै टोलीले तिब्बतमा भैरहेको आर्थिक, प्राविधिक तथा भौतिक विकासका बारेमा पनि गहन अध्ययन गर्ने बताईएको छ ।