RayNewsDaily
जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता    
फाइल तस्वीर ।

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता)को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएका छन् ।     
     
भेडापालन प्रवरद्धन कार्यक्रम अन्तर्गत यहाँका करिब २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता) प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिनुभयो ।     
कार्यालयबाट प्रदान गरिएको उक्त कार्यक्रमबाट भेँडा पालनमा थप व्यवसायमा टेवा पुगेको छ । जिल्लाको सिंजा गाउँपालिका-६ का भेँडापालक किसान भीमबहादुर रावतले भन्नुभयो, “यो आवमा १८ हजार प्रोत्साहन भत्ता पाएको छु । अहिले १०० भन्दाबढी भेडा रहेकाछन् । सो रकमले भेँडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको भेँडापालक किसान रावतको भनाइ छ ।”     
     
चालु आर्थिक वर्षमा यहाँका २३० जना भेँडा किसानले प्रोत्साहन भत्ता पाएकाछन् । कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ । जिल्लामा करिब १७ सयभन्दा बढी भेडा किसानछन् । जहाँ ८८ हजार ३८८ भेँडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिएका छन् ।     
     
जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ । सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेँडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताउनुभयो ।भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका-१ भेंडा पालक किसान रुञ्ज रावतको भनाइ छ ।     
     
कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्लालगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागू गरेको छ । रासस

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update