RayNewsDaily
एघारौँ विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल        

काठमाडौं । एघारौँ विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरूसहितका प्रतिनिधिको छलफल भएको छ ।     
     
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो । प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रूपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।     
     
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री रघुजी पन्त, जीवन विज्ञान संस्थाका संस्थापक एलपी भानु शर्मा र गुरु रमेश नेपाल, मूल समारोह समितिका सदस्यसचिव शिवकुमार सापकोटालगायत सहभागी हुनुहुन्थ्यो ।     
     
हरेक जुन २१ (असार ७) मा मनाइने यो दिवसको यस वर्षका लागि ‘योगा फर वान अर्थ, वान हेल्थ’ को आदर्श वाक्यलाई आन्तरिकीकरण गरी मनाउने तय गरिएको छ । दिवस मनाउन गत जेठ २९ गते शिक्षा मन्त्रालयमा शिक्षामन्त्री पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको उपस्थितिमा भएको बैठकले मूल समारोह समिति गठन गरेको थियो ।     
     
शिक्षामन्त्री पन्तले योगलाई विद्यालय तहसम्म पुर्याउनुपर्ने तथा युवा पुस्तामा समेत योग अभ्यास बढाउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update