
दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको छ । गाउँपालिकाभित्रका एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित गाउँपालिकाले बाख्रा वितरण गरेको हो ।
गाउँपालिकाभित्रका सात वटा वडाका चार/चार एकल महिला छनोट गरी प्रत्येकलाई एक/एक वटाका दरले बाख्रा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्र एकल महिलाको सङ्ख्या चार सय ५२ जना रहेकामा निम्न आय भएका २८ जना महिला छनोट गरी बाख्रा वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित बाख्रापालनतर्फ प्रोत्साहन गरेका हौँ । यसले उहाँहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ ।” बाख्रा खरिदका लागि पालिकाले प्रति महिला रू १२ हजार सहयोग गरेको अधिकारीले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिलालाई बाख्रा वितरणका लागि पालिकाले रू तीन लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यसहित बाख्रा वितरण गरिएको बताउनुभयो ।
एकल महिला सिर्जना विकले पालिकाले अनुदानमा बाख्रा वितरण गरेकाले बाख्रापालनतर्फ आत्मनिर्भर बन्ने प्रयास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले बाख्रापालनतर्फ अगाडि बढ्न प्रोत्साहित गरेको छ ।” रासस