RayNewsDaily
स्याङ्जाको चराङमा फल्यो स्याउ   

वालिङ (स्याङ्जा) । भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो ।    
    
 भीरकोट–९ का वडा सदस्यसमेत रहनुभएका चराङ गहतेका ललित गुरुङ र ईमानप्रसाद गुरुङले परीक्षणका लागि लगाउनुभएको स्याउ यसवर्ष लटरम्म फलेको छ ।    
    
 “दुई वर्ष अघि स्याउका बेर्ना किनेर परीक्षणका लागि लगायौँ”, ललितले भन्नुभयो, “फल्छ की फल्दैन भन्ने अन्योल थियो । अहिले लटरम्म फलेको छ ।”    
    
 गत वर्ष ५-७ दाना मात्र फलेको उहाँले बताउनुभयो । स्याउका लागि यहाँको हावापानी अनुकुल रहेको पाइएको छ । समुद्री सतहदेखि झण्डै एक हजार ५०० मिटर उचाइमा रहेको चराङ गहतेमा परीक्षणका लागि लगाइएको स्याउले राम्रो उत्पादन दिन थालेपछि अब व्यावसायिक रुपमा स्याउ उत्पादन गर्न थालेको उहाँले बताउनुभयो ।    
    
 “अब स्याउका बेर्ना ल्याएर व्यावसायिकरुपमा अगाडि बढ्ने तयारीमा छौँ”, ललितले भन्नुभयो । स्याउको यावसायिक उत्पादनबारे कृषि प्राविधिकसँग समन्वय छलफल गरिरहेको उहाँले बताउनुभयो ।    
    
 चराङ गहतेमा स्याउ उत्पादन सफल भएसँगै अहिले त्यहाँका स्थानीय खाली रहेका जमिनमा व्यावसायिक रुपमा स्याउ खेती गर्नेतर्फ आकर्षित हुन थालेका छन् ।    
    
 कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले यसबारे जानकारी प्राप्त नभएको बताउनुहुन्छ । “उत्पादन भएको स्याउको गुणस्तर पत्त ा लगाउँदै छौँ”, उहाँले भन्नुभयो । रासस   

 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update