RayNewsDaily
राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे चीन प्रस्थान

काठमाण्डू, २०८२ जेठ ६ गते मंगलबार । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे छ दिने औपचारिक भ्रमणका लागि चीनको शान्सी प्रान्तको सियान सहरतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।    
    
 सियान सहरमा यही जेठ १० गतेसम्म आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च तथा नवौँ सिल्क रोड अन्तरराष्ट्रिय प्रदर्शनी र पूर्व–पश्चिम चीनबीच सहयोगका लागि लगानी तथा व्यापार मञ्च कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । दुवै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्नुहुनेछ ।    
    
 उहाँसँगै प्रतिनिधिसभाका सांसदद्वय दिनेशकुमार यादव र उर्मिला माझी, राष्ट्रियसभाका सांसदद्वय वेदुराम भुसाल र सुमित्रा विसी, संसद् सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नवीन भट्टराई र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंहसहितको प्रतिनिधिमण्डल सहभागी हुनुहुन्छ । चीन भ्रमण सकेर जेठ १० गते उक्त प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम छ । रासस   
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update