
काठमाण्डू । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा मन्त्री राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी हुनुभएकामा धन्यवाद व्यक्त गर्नुभयो । साथै मन्त्री राणाले सिन्धुली बर्दिवास बाटोको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
गत वर्ष आएको अविरल वर्षाका कारण सो बाटोमा ठूलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो ।
मन्त्री राणा र जापानी उपविदेशमन्त्रीबीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो मन्त्री राणाले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
राससका अनुसार मन्त्री राणाले नेपालले अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यबद्धता जनताउन र सहयोगका लागि जापानसँग आग्रह पनि गर्नुभएको थियो ।