
रे समाचार/काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गर्नुभएको थियो ।
वि.सं. २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो ।
वि.सं. २०७२ को भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो । उक्त परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा रहेको छ ।
त्यसपछि एमाले कार्यालय कहिले धूम्रबाराही त कहिले थापाथली सारिएको थियो । हाल एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ । मदन आश्रित स्मृति दिवसका दिन भने बल्खुस्थित सोही कार्यालय र त्यहाँको मदन भण्डारीको प्रतिमाले विशेष महत्त्व पाउने गरेको छ ।
वि.सं. २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको थियो । आजसम्म पनि सो घटना रहस्यमै रहेको छ । नेकपा एमाले पटक पटक सत्तामा गएका बेला सो दुर्घटनाको सत्यतथ्य पत्ता लगाउने उद्धघोष गरेको थियो तर उ आफै सुस्तायो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्तामा पहिलो पटक पुगेको समयमा पनि यस घटनाका बारेमा छानवीन गर्ने बताउनुभएको थियो तर प्रचण्ड सरकारले पनि केही गर्न सकेन । त्यत्तिमात्र नभएर श्वयं जननेता मदन कुमार भण्डारीकी श्रीमति विद्यादेवी भण्डारी दुई पटक मुलुकको सर्वोच्च पद राष्टपति हुँदा पनि सो घटनाका बारेमा छानविन गर्ने तत्परता देखाउनु भएन भन्ने जनगुनासो आजसम्म पनि रहीरहेको छ ।