काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ वटा परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् ।
साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन् ।
“आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपरयो”, स्थानीय रामबहादुर दनुवारले भन्नुभयो । उहाँले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पूर्जा लिनुभएको हो ।
लालपूर्जाविहीनका लागि स्थानीय अगुवाले वर्षौँदेखि पूर्जा दिलाउन प्रयास गरेका थिए । छब्बीस परिवारलाई नगरप्रमुख खरेलले पूर्जा वितरण गर्नुभएको हो । खाँडका नाममा दर्ता उक्त जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पूर्जा बनाई वितरण गरिएको उहाँले बताउनुभयो । “पहिलो चरणमा बनेको पूर्जा २६ जना जग्गाधनीलाई वितरण गरियो, अब पूर्जा बन्न बाँकी जग्गाको जिल्ला मालपोत कार्यालयमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो । रासस