
काठमाडौं । प्रतिनिधिसभाका सदस्य सरिता भुसालले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने दाउन्ने सडकखण्डको वैकल्पिक मार्गका रुपमा रहेको भुताहा-आमबास-दुम्कीबास सडक बजेट अभावका कारण अधुरै रहेकाले बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागलाई जोड्ने यो सडक निर्माण हुँदा ग्रामीण भेगका नागरिकलाई सडकको पहुँचमा पु¥याउन सक्छ, यसलाई पर्यटन मार्गका रुपमा पनि लिन सकिन्छ ।” भुताहा, आमबास र दुम्कीबास सडकका लागि सरकारले निरन्तरता बजेट उपलब्ध नगराउँदा निर्माण कार्य अधुरै रहन गएकाले आगामी आर्थिक वर्ष बजेट व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद डा. स्वर्णिम वाग्लेले भारत र चीनसँग जोडिएको नेपालको सिमानाकामा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद सीताकुमारी रानाले संयुक्त राष्टङ्घीय बालअधिकार महासन्धि अनुमोदन गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताउनुभयो । सिङ्गो देशलाई बालमैत्री बनाउन तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालले गरेको प्रतिबद्धता पूरा गर्न राज्यले बालबालिकामा गरेको लगानी न्यून भएको उल्लेख गर्दै उहाँले अबको बजेट बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो । रासस