RayNewsDaily
विराटनगरमा हल्का वर्षा

रमेश हतुवाली/विराटनगर । कोशी प्रदेशको राजधानी शहर विराटनगर लगायतका मोरंग जिल्लाका विभिन्न भागमा यत्तिवेला वर्षा भैरहेको छ । बिहान ७ः३० बजेदेखि सामान्य वर्षा सुरु भएको हो ।

लामो समयको खडेरीपछि भएको वर्षाबाट स्थानीयहरुले राहत महसुश गरेका छन् । चैत महिनादेखिनै असिना पानीसहित वर्षा हुने विराटनगर लगायत पूर्वी नेपालमा झण्डै एक दशकदेखि बैशाखमध्यदेखिमात्र बर्षा हुने गरेको छ । पुसे र माघेझरीको अनुभव गरेका ग्रामथान गाउँपालिकाका कृषकहरु आजकल समयमै वर्षा हुन नसक्दा चिन्तित छन् । वातावरणक्षेत्रमा काम गर्नेहरुले भने अनियमित, ढिलो र अत्यधिक वर्षा हुनुलाई जलवायु परिवर्तनसँग जोड्ने गरेका छन् । समयभन्दा छिटो फल लाग्ने, फूल फूल्ने र फलफूलको स्वादमा परिवर्तन हुनुलाई पनि मौसम परिवर्तनको असरसँग जोड्ने गरिएको छ ।

पूर्वी नेपालमा झापा, मोरंग, सुनसरी, सप्तरी लगायतका केही जिल्लाहरुमा यत्तिवेला मकै पाक्ने बेला भएको छ । कृषकहरुले भख्खरै गहुँ थन्क्याएका छन् । कतिपय क्षेत्रमा चैते धान पनि रोपिएको छ । कोशीनदी खेत नजिकै बगे पनि खेती गर्ने समयमा आकाशतिर फर्कनु पर्ने बाध्यताले कृषकलाई पिरोलेको छ । तर राज्यमा आमुल परिवर्तन गर्छु भन्नेहरुको हातमा सत्ता पुगेको १८ वर्ष पुरा भैसक्दा पनि पूर्वी नेपालको सिंचाई क्षेत्रमा खासै प्रगति हुन सकेको छैन ।

तराईमधेस क्षेत्रलाई अन्न भण्डारको नाम दिए पनि अन्न उत्पादनका लागि प्रर्याप्त सिंचाई र मल, विउको अभावले कृषि प्रधान देश अब परनिर्भर देशका रुपमा रुपान्तरित भैरहेको छ ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update