RayNewsDaily
रे टेलिभिजन चौथौ वर्षमा प्रवेश

रमेश हतुवाली/विराटनगर । रे टेलिभिजन एचडी आजदेखि नियमित प्रसारणको तीन वर्ष पुरागरी चौथो वर्षमा प्रवेश गरेको छ ।

तीन वर्षअघि आजकै दिन अर्थात अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा नियमित प्रसारण शुभारम्भ गरेको रे टेलिभिजन सूचना र समाचारको किरणको रुपमा निरन्तर क्रियाशिल रहँदै आएको छ । 

स्थापना कालदेखिनै शिक्षा र जनचेतनाका लागि रे टेलिभिजन विशेष रूपमा उपयोगी साबित भएको छ । राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, स्वास्थ्य, सरसफाइ, वातावरण, लैङ्गिक समानता, जातीय समावेशिता जस्ता विषयमा विविध कार्यक्रम प्रसारण गरेर रे टेलिभिजनले जनतालाई सजग बनाइरहेको छ । साथै, यसले स्थानीय संस्कृति र लोकजीवनको प्रचार–प्रसार गरी राष्ट्रिय एकता कायम राख्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरको छ । 

मनोरञ्जन, खेलकूद, कृषि, पर्यटन, विज्ञान–प्रविधि, अन्तर्राष्ट्रिय गतिविधी, सार्वजनिक चासो र जनसरोकारका महत्वपूर्ण  समाचार तथा समाचार विश्लेषणलाई प्रार्थमिकताकासाथ रे टेलिभिजनले प्रसारण गरिरहेको छ । सञ्चारक्षेत्रको बदलिँदो परिवेश र तिब्र प्रतिष्पर्धाबीच स्वदेश तथा विदेशमा रहनु भएका नेपाली तथा विश्व समुदायलाई नेपाल र विश्वमा भएका घटनाहरुबारे यथार्थ जानकारी गराउने जीम्मेवारीलाई रे टेलिभिजनले निर्वाह गरिरहेको छ । प्रेस स्वतन्त्रताका लागि पत्रकारिताका विश्वव्यापी मूल्य र मान्यताहरुलाई उच्च प्रार्थमिकता दिँदै नागरिकको सूचना प्राप्त गर्ने हकाधिकार तथा लोकतन्त्रको प्रवद्र्धनमा निरन्तर लागिरहने प्रतिवद्धताकासाथ रे टेलिभिजन सत्य, तथ्य र निष्पक्ष समाचार तथा सूचना सम्प्रेषणको लागि कलम चलाई रहेको छ । 

नियमित प्रसारणको तीन वर्ष पुरागरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलले शुभकामना सन्देश दिनुहुँदै वर्तमान युगमा टेलिभिजन सूचना, सञ्चार र मनोरञ्जनको प्रभावशाली माध्यम रहेको भन्दै यसको प्रयोगले समाजका विविध क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुगेको बताउनु भएको छ । समाचार, अन्तरवार्ता, अन्तरक्रिया, मनोरञ्जनात्मक कार्यक्रम र जनचेतनामूलक सन्देशमार्फत टेलिभिजनले जनमानसलाई प्रभाव पार्ने धारणा व्यक्त गर्नुहुँदै अध्यक्ष पौडेलले दर्शक र आम नागरिकका चाहना अनुसार रे टेलिभिजन निरन्तर सोही अनुसारका कार्यक्रमहरुका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै अध्यक्ष पौडेलले नियमित प्रसारणको चौथो वार्षिकोत्सवका अवसरमा समस्त दर्शक, शुभेच्छुक, शुभचिन्तक लगायत सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 


 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update