
काठमाण्डू । चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा आधारित भई मापन गरिएको जिडिपीको आकार हो ।
तथ्याङ्क कार्यालयले अघिल्लो वर्षको वास्तविक र गत वर्षको संशोधित जिडिपीको आकार पनि सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को अर्थतन्त्रको आकार ५७ खर्ब नौ अर्ब बराबर रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी, चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर आधारभूत मूल्यमा तीन दशमलव ९९ प्रतिशत र उपभोक्ता मूल्यमा चार दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष नेपालले तीन दशमलव ९९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।
चालु आर्थिक वर्षमा कृषि क्षेत्रको योगदान तीन दशमलव २८ प्रतिशत र गैरकृषि क्षेत्रको चार दशमलव २८ प्रतिशत रहने तथ्याङ्क कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ३६ प्रतिशत रहेको थियो । त्यस्तै, चालु आवमा प्राथमिक क्षेत्र तीन दशमलव २५, द्वितीय क्षेत्रको चार दशमलव ६५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर चार दशमलव २१ प्रतिशत रहने अनुमान गरिएको छ ।
निरन्तर दुई आर्थिक वर्षमा नकारात्मक वृद्धिदर देखिएको उद्योग र निर्माण क्षेत्रमा यसवर्ष भने सकारात्मक वृद्धि देखिने अनुमान गरिएको छ । गत आर्थिक वर्ष उद्योग क्षेत्रमा दुई दशमलव ०२ प्रतिशत र निर्माण क्षेत्रमा दुई दशमलव २० प्रतिशतको ऋणात्मक वृद्धि देखिएको थियो । तर यसवर्ष उद्योग क्षेत्र तीन दशमलव ७८ प्रतिशत र निर्माण क्षेत्र दुई दशमलव २१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रमा देखिने अनुमान गरिएको छ । राससका अनुसार विद्युत् क्षेत्रमा १३ दशमलव ८२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय १७ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै, गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार चार सय ६७ अमेरिकी डलर रहने संशोधित अनुमान रहेको छ ।
प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले कोभिड-१९ महामारी, जाजरकोट भूकम्प तथा बाढी पहिरोका कारण अघिल्ला वर्षहरुमा कमजोर देखिएको आर्थिक वृद्धिदरमा अहिले निरन्तर सुधारको गति देखिएको बताउनुभयो ।