
रे समाचार/काठमाण्डू । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई गिरफ्तार गरिएसँगै विरोध प्रर्दशन गरिएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सादा पोशाकमा रहेका प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर गएपछि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।
संरक्षक चौधरी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा सहभागी हुन कमलादी पुगेका थिए । अप्रत्यासित रुपमा प्रहरीले चौधरीलाई नियन्त्रणमा लिई डिल्लीबजार कारागार पुर्याएपछि दुवै पार्टीबीचको एकता सभा आजका लागि स्थिगित भएको हो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिनुभएको छ ।
प्रज्ञा प्रतिष्ठानमा पुगेका केही नेताहरुले पहिचानवादी शक्तिलाई एक हुन नदिन सरकारले नेता चौधरीलाई गिरफ्तार गरेको आरोप लगाएका छन् ।
टीकापुर हत्याकाण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । यद्यपी उनलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।