RayNewsDaily
डेङ्गी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

काठमाडौं । डेङ्गी रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ ।


नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेङ्गी फैलन सक्ने भन्दै महानगरले लार्भा खोज र नष्ट गर अभियान यसै हप्तादेखि सञ्चालन गर्न लागेको जनाएको छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि डेङ्गी फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न सरोकार भएको निकायहरूको सहकार्यमा अभियान सञ्चालन गर्न लागिएको महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार यो काम नगर प्रहरीमार्फत टोल–टोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने तथा वडास्तरमा गठन भएको द्रुतप्रतिकार्य टोलीसमेत परिचालन गरिनेछ ।

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ–आफ्नो टोल–टोलमा गई पानी जमेको ठाउँमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कशप तथा टायरलगायत सडक किनारामा राखिएको वस्तुमा पानी जम्न नदिनेजस्ता काम गरिने भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update