RayNewsDaily
एलपी ग्यासको समस्या समाधानमा गम्भीर भएर लाग्छु : उद्योगमन्त्री साह
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ लिनुहुँदै । समाराेहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश डा. मनाेजकुमार शर्माकाे उपस्थिति रहेकाे थियाे । तस्बिर सौजन्य: राष्ट्रपतिको सचिवालय
  • एलपी ग्यासको समस्या समाधान गर्ने प्रतिबद्धता ।
  • निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्ने ।
  • आवश्यकताअनुसार सुधारका कार्यक्रम अघि बढाउने ।

रे समाचार/काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा आफू गम्भीर भएर लाग्ने बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उहाँले पत्रकारसँग जनतालाई आवश्यक मात्रामा ग्यास उपलब्ध गराउन आफूले आवश्यक कदम चाल्ने बताउनुभयो ।

“जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनैपर्छ, छलफल गरेर आवश्यक कदम चाल्नेछौँ”, मन्त्री साहले भन्नुभयो ।

निवर्तमान उद्योगमन्त्री गौरीकुमारीसँग छलफल गरेर आफू अघि बढ्ने उल्लेख गर्दै मन्त्री साहले त्यस आधारमा सुधारका कार्यक्रम अघि बढाइने स्पष्ट पार्नुभयो ।

“कुनै काम गर्नुभन्दा अघि विगतमा त्यससम्बन्धमा के-के भइरहेको छ, त्यसको जानकारी लिएर मात्रै अघि बढ्दा नतिजा आउँछ”, मन्त्री साहले भन्नुभयो ।

तत्कालीन मन्त्री गौरीकुमारीले आज पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले सांसद साहलाई उद्योगमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update