
काठमाडौं । नेपाल बंशज नागरिक संघले नेपाल नागरिकता ऐन, २०६३ मा गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा गरिएको संशोधनले बंशज नेपाली नागरिकहरुलाई क्रमशः बंशजको नागरिकताबाट विमुख गराउने, नेपाल फर्कन निरुत्साहित गर्ने र नागरिक अधिकार प्रयोग गर्नबाट बन्देज लगाउने नीति लिएको ठहर गरेको छ ।
आज रिपोटर्स क्लव नेपाल, काठमाडौंमा सो संघले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुँदै वक्ताहरुले नेपालको सार्वभौमिकता र अखण्डताको रक्षाका लागि नेपाली नागरिकलाई दोहोरो नागरिकता लिन पाउने सुविधा दिनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारले बंशजको नागरिकता लिएकाहरुलाई रोजगारको सुविधा नदिई विदेशीन बाध्य बनाएको र भारतीय नागरिक र तिब्बती शरणार्थीहरुलाई अभियानकै रुपमा नागरिकता वितरण गरिरहेको बताउनु भयो । वरिष्ठ अधिवक्ता न्यौपानेले देशमा स्वदेशी रोजगार विभागको साटो बैदेशिक रोजगार विभाग खोल्ने सरकारले बंशजको नागरिकता प्राप्त गरेका नागरिकलाई विदेशी बनाउँदै मुलुकलाई सिक्किमीकरण गरिरहेको भन्दै देश जोगाउन दोहोरो नागरिकता बितरण गर्नु आवश्यक भएको तर्क गर्नुभयो ।
कार्यक्रममा नेपाली बंशजका नागरिकहरु विदेशीनु रहर नभएर बाध्यता भएको तथ्यलाई मनन गर्दै विदेशिएका बंशजका नेपाली नागरिकहरुले विदेशमा सिकेको सीप र कमाएको पूँजीलाई नेपालको समृद्धिमा लगाउन नागरिकताको निरन्तरता हुने गरि कानून संशोधन गर्न सरोकारवालाहरु सबैको ध्यानाकर्षण गराएको छ ।