RayNewsDaily
गायक तामाङको रगत र भिसेरा जाँच गरिने

काठमाडौं । नेपाली पप रक संगीत क्षेत्रका चर्चित गायक रोबिन तामाङको रगत र भिसेरा जाँच गरिने भएको छ । गायक तामाङको मंगलबार राति रहस्यमय किसिमले निधन भएको थियो । 

शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. गोपाल चौधरीको टोलीले उहाँको शव परीक्षण गरेको थियो । अस्पतालले प्रहरीलाई रविनको मृत्यु मुटुको समस्याका कारण भएको प्रारम्भिक जानकारी दिएको बुझिएको छ । उहाँको मृत्युको अनुसन्धानलाई थप सहज बनाउन आज भिसेरा र रगत परीक्षण गर्न लागिएको प्रहरीको भनाइ छ ।

चर्चित गायक तामाङको ६० वर्षको उमेरमा हिजो निधन भएको थियो । तामाङको हिजो साँझ बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो ।

तामाङले नेपाली पप रक संगीत क्षेत्रमा थुप्रै गीतहरु गाउनु भएको छ । सरुमा 'रोबिन एन्ड लुजा' ब्यान्डसँगै नेपाली रक संगीतको यात्रा थालनी गर्नुभएका तामाङले पछिल्लो समय 'रोबिन एन्ड रेभोल्यूसन' ब्यान्ड मार्फत सांगीतिक यात्रालाई अघि बढाउनु भएको थियो । तामाङले छड्के, नाका, मुखौटा, चिसो एस्ट्रे लगायतका चलचित्रमा अभिनयन पनि गर्नुभएको छ। उहाँले 'द लास्ट आवर' नामक बलिउड वेब सिरिजमा पनि काम गर्नुभएको छ ।

तामाङको मृत्यु रहस्यमय र शंकास्पद देखिएको छ । उहाँलाई आफ्नै निवासमा मृत भेटिएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए । बूढानीलकण्ठ प्रहरी वृत्तका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार तामाङको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उहाँका अनुसार रोबिनको शव बेडरुममा भेटिएको थियो  । उहाँकी दिदीले खबर गरेपछि प्रहरी उहाँको घरमा पुगेको थियो । कोठाको ढोका भित्रबाट बन्द रहेको र मृत्युको कारण पोस्टमार्टमपछि मात्र पत्ता लाग्ने प्रहरी निरीक्षक चन्दले बताउनु भयो । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update