 
                                                                    जेनेभा । सिरियामा जारी द्वन्द्वका कारण एक साताको अवधिमा करिब दुई लाख ८० हजार जना मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले आज जनाएको छ ।     
     
विश्व खाद्य कार्यक्रमका आपतकालीन समन्वय प्रमुख समर अब्देलजाबरले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “नोभेम्बर २७ देखि अहिलेसम्म दुई लाख ८० हजार जना विस्थापित भएको हामीलाई जानकारी प्राप्त भएको छ ।''     
     
दमास्कसबाट प्राप्त समाचार अनुसार सिरियाली सेनाले सहयोगी राष्ट्र रूससहितका लडाकु विमानको सहयोगमा शुक्रबार हामा प्रान्तमा ‘विद्रोहीका सवारी साधन र भेला’ लाई निशाना बनाएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।     
     
“हाम्रो सशस्त्र बलले हामा प्रान्तको उत्तर र दक्षिणमा रहेका विद्रोहीका सवारी साधन र भेलालाई तोपखाना, क्षेप्यास्त्र र सिरियाली-रूसी लडाकू विमानको प्रयोग गरी निशाना बनाइरहेको छ,” सैन्य स्रोतलाई उद्धृत गर्दै सिरियाली मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।     
     
यसैबीच, लेबनानको राजधानी बेरुतबाट प्राप्त जानकारी अनुसार इस्लामवादी नेतृत्वको विद्रोहीले शुक्रबार सिरियाको तेस्रो शहर होम्सबाट केही दूरीमा रहेका दुई रणनीतिक सहरलाई आफ्नो नियन्त्रणमा लिएको सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले जनाएको छ ।     
     
राइट्सका प्रमुख रामी अब्देल रहमानले भन्नुभयो, “हयात तहरीर अल–शाम र सहयोगी समूहहरू रास्तान र ताल्बिसेहलाई कब्जा गरेपछि होम्स शहरको बाहिरी इलाकाबाट पाँच किलोमिटर टाढा पुगेका छन् ।     
     
उहाँले होम्सलाई नियन्त्रण गर्नाले विद्रोहीहरूले सिरियाली तटतर्फ जाने मुख्य सडक काट्न सक्ने बताउनुभएको छ ।     
     
सरकारबाट दोस्रो शहर अलेप्पो कब्जा गरेको केही दिनपछि इस्लामिक समूह एचटीएस र सहयोगी लडाकुहरूले बिहीबार कब्जा गरेको हामाको दक्षिणमा होम्स छ ।     
     
विद्रोही सैन्य कमाण्डर हसन अब्देल घानीले शुक्रबार टेलिग्राममा एक वक्तव्य जारी गर्दै भन्नुभयो, “हाम्रो सेना होम्स शहरतर्फ निरन्तर अघि बढिरहेको छ ।     
     
मार्च २०११ मा सिरियाको विद्रोह सुरु भएपछि शहरमा व्यापक विरोध प्रदर्शन भएका कारण होम्सलाई कुनै समय ‘क्रान्तिको राजधानी’ भनिएको थियो।     
     
द्वन्द्वको प्रारम्भिक वर्षहरूमा, होम्सले विपक्षी गुटहरू र सिरियाली सेनाबीच भीषण युद्धको मार खेपेका थिए । सन् २०१७ को मार्च र मे महिनाको बीचमा होम्सको विद्रोहीको कब्जामा रहेको अन्तिम किल्ला वेरबाट युद्धविराम सहमति अनुरूप हजारौंलाई सुरक्षित स्थानमा सारिएको थियो । एएफपी

 
                                             
                                             
                                            