RayNewsDaily
रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति
  • रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति भएको दाबी ।
  • किभका डेटा सेन्टरमा क्षति, डिजिटल तथा सञ्चार सेवामा असर ।
  • २५ प्रतिशत क्षतिको स्वतन्त्र पुष्टि भने हुन सकेन ।

मस्को । रुसी सेनाले युक्रेनको राजधानी किभस्थित डेटा सेन्टरलाई लक्षित गरी गरेको आक्रमणबाट युक्रेनको करिब २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति पुगेको दाबी गरेको छ ।

रुसी सुरक्षा निकायका एक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले शनिबार जनाएअनुसार पछिल्लो आक्रमणले युक्रेनको डिजिटल तथा सञ्चार सेवामा उल्लेख्य असर पारेको छ । डेटा सेन्टरमा भएको क्षतिका कारण इन्टरनेटसम्बन्धी सेवामा अवरोध देखिएको रुसी पक्षले जनाएको छ ।

रुसी पक्षका अनुसार आक्रमणपछि युक्रेनका केही क्षेत्रमा टेलिभिजन प्रसारणमा आंशिक अवरोध आएको छ । सामाजिक सञ्जाल तथा भिडियो सेवामा समेत समस्या देखिएको र किभका बासिन्दालाई युट्युबसहित केही अनलाइन स्रोतमा पहुँच गर्न कठिनाइ भएको दाबी गरिएको छ ।

किभस्थित कोस्मोनोभा डेटा सेन्टरले पनि शनिबार आफ्ना मुख्य पूर्वाधारमा क्षति पुगेको जनाएको छ । कम्पनीले इन्टरनेट ट्राफिकलाई अन्य स्थानतर्फ मोड्ने तथा ब्याकअप स्थानबाट डेटा पुनःस्थापना गर्ने काम भइरहेको जनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पछिल्ला केही सातादेखि युक्रेनका डेटा सेन्टर तथा दूरसञ्चार पूर्वाधारलाई लक्षित गरी आक्रमण बढेको रिपोर्ट सार्वजनिक भएका छन् । सेप्टेम्बर २३ मा मात्रै चारवटा डेटा सेन्टरमा आक्रमण भएको र त्यसबाट केही सञ्चार तथा डिजिटल सेवामा अवरोध आएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले कोस्मोनोभा डेटा सेन्टरलाई लक्षित गरिएको पुष्टि गर्दै उक्त पूर्वाधारले मोबाइल इन्टरनेट सेवा तथा स्टारलिंकसम्बन्धी सहयोग उपलब्ध गराएको दाबी गरेको छ ।

यद्यपि, युक्रेनको सम्पूर्ण इन्टरनेट सेवा ठप्प भएको अवस्था भने नरहेको बताइएको छ । विभिन्न इन्टरनेट प्रदायक तथा वैकल्पिक सञ्चार मार्ग रहेकाले एउटा वा केही डेटा सेन्टरमा क्षति पुग्दा देशव्यापी रूपमा इन्टरनेट पूर्णरूपमा बन्द हुने सम्भावना कम रहेको विज्ञ तथा सेवा प्रदायकहरूको भनाइ छ ।

डेटा सेन्टरमा भएको क्षतिले सर्वसाधारणको दैनिक इन्टरनेट प्रयोगसँगै समाचार तथा सूचना प्रवाहमा समेत असर पार्न सक्छ । पछिल्लो आक्रमणपछि केही टेलिभिजन च्यानलको प्रसारण प्रभावित हुनुका साथै केही समाचार वेबसाइटमा भिडियो सामग्री चलाउन समस्या देखिएको रिपोर्ट गरिएको छ ।

रुस-युक्रेन युद्धका क्रममा पछिल्लो समय ऊर्जा, रेल, दूरसञ्चार र डिजिटल पूर्वाधारलाई समेत लक्षित गर्ने क्रम बढेको देखिएको छ । किभमा भएको पछिल्लो आक्रमणले युद्धको असर सैन्य संरचनासँगै नागरिकले दैनिक प्रयोग गर्ने सञ्चार तथा डिजिटल सेवासम्म पुगेको देखाएको छ ।

तर रुसी पक्षले गरेको युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधार नष्ट भएको दाबीको स्वतन्त्र पुष्टि तत्काल हुन सकेको छैन । त्यसैले उक्त तथ्यांकलाई रुसी सुरक्षा स्रोतको दाबीका रूपमा लिनुपर्ने हुन्छ । सिन्ह्वा

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update