- भारतमा बाढी-पहिरोमा ५६ जनाको मृत्यु ।
- उत्तर प्रदेशमा एक हजारभन्दा बढी घरमा क्षति ।
- ओडिसामा ७० हजारभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए ।
लखनउ (भारत) । उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ ।
भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य उत्तर प्रदेशमा तीन दिनयता बाढी तथा वर्षासम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ । राहत आयुक्तको कार्यालयका अनुसार एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।
यता, गत अगस्ट २६ को विनाशकारी बाढीबाट प्रभावित नेपालमा पुनः बाढी तथा पहिरोको नयाँ शृङ्खला सुरु भएको छ । नेपालका विपद् व्यवस्थापन अधिकारीका अनुसार बिहीबारयता बाढी तथा पहिरोका घटनामा १२ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् ।
वैज्ञानिकहरूले पछिल्ला वर्षमा दक्षिण एसियामा चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको चेतावनी दिँदै आएका छन् । उनीहरूले यस्तो अवस्थालाई जलवायु परिवर्तन र बढ्दो तापक्रमसँग जोडेर हेरेका छन् ।
गत महिना चीन-नेपाल सीमाक्षेत्रमा हिमनदीसहितको पहाड खस्दा आएको विनाशकारी बाढीमा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने हजारौँ बेपत्ता भएका थिए ।
उत्तर प्रदेशमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुनका बेला हरेक वर्ष भारी वर्षा र आँधीबेहरीका घटना दोहोरिने गर्छन् । अधिकारीका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली स्थलतर्फ सर्दा वर्षाको तीव्रता बढेको हो । यसका कारण अत्यधिक वर्षा भई मानवीय तथा भौतिक क्षति भएको छ ।
राज्यमा शुक्रबारदेखि आइतबारसम्म ६६.५ मिलिमिटर वर्षा मापन गरिएको छ, जबकि यस अवधिको औसत वर्षा ७.६ मिलिमिटर मात्र हुने गर्दछ ।
भारी वर्षाले कृषिक्षेत्रमा समेत व्यापक असर पारेको छ । बालीनालीमा क्षति पुगेपछि किसानले आगामी सिजनको खेती प्रभावित हुने चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच, भारतको पूर्वी राज्य ओडिसामा भारी वर्षाका कारण नदीको जलस्तर बढेपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । पुल तथा कल्भर्टमा क्षति पुगेपछि लोकप्रिय पर्यटकीय गन्तव्य ‘देवकुण्ड’ पनि अस्थायी रूपमा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लामो गर्मीयामपछि मनसुन सुरु भएसँगै भारतमा हरेक वर्ष बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्याउने गरेको छ । एएफपी
