RayNewsDaily
काफल बेचेर मनग्य आम्दानी   

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीया गीता वादी हिजोआज तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बेच्न व्यस्त हुनुहुन्छ । एक दशकदेखि सोही चोकमा बसेर व्यवसाय गदैँ आउनुभएकी बादीले समयअनुसारका फलफूल बिक्री गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले काफलको मौसम छ, बिहानै खरिद गर्छु । दिनभरी यहीँ चोकमा बसरे बिक्री गर्छु । यसैबाट घरपरिवार पाल्न र छोराछोरी पढाउन सजिलो भएको छ ।”    
    
 सल्यानका विभिन्न ठाउँबाट बिहानै छिटुवाका छिटुवा काफल तुलसीपुर बजारमा बिक्रीका लागि त्यहाँका स्थानीयवासीले ल्याउने गर्दछन् । वादी पनि दिनहुँ बिहानै मोलमोलाई गरेर काफल खरिद गर्नुहुन्छ । दिनभर चोकमा बसेर बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । प्रति माना रु एक सयमा काफल बिक्री गर्ने गरेको वादीले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष काफलको उत्पादन घटेको स्थानीयले बताउने गरेको उहाँको भनाइ छ । वादीले गतवर्ष काफल बिक्रीबाट रु ४० हजारबढी आम्दानी गरेको बताउनुभयो ।    
    
बढ्दो गर्मीसँगै तुलसीपुर बजारका विभिन्न चोकमा बसेर यतिखेर काफल बिक्री गर्ने क्रम बढेको छ । विशेष गरेर तुलसीपुर नगरपालिका–१ का विभिन्न गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गर्ने गरिएको छ । ती स्थानमा काफल किन्न आउने सर्वसाधारणको भीड नै देखिन्छ ।    
    
काफलको तुलसीपुर बजारमा मनग्य व्यापार भएको छ । तुलसीपुर नगरपालिका–१ को अम्बास, टुनापानी र छिमेकी जिल्ला सल्यानका विभिन्न गाउँबाट स्थानीयले यहाँका बजारमा बेच्न ल्याएको काफल प्रति माना रु ५० देखि रु एक सय सम्ममा बिक्री हुने गरेको छ । काफल बेच्न तुलसीपुरस्थित सल्यान सडक खण्डमा सल्यानको धनवाङबाट आउनुभएकी ५० वर्षीया लक्ष्मी पुन वनबाट टिपेर बिक्री गर्न तुलसीपुर बजार आउनुहुन्छ । काफल बेचेर हालसम्म रु १५ हजार आम्दानी गरेको उहाँ बताउनुहुन्छ ।    
    
यस्तै तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बिक्री गर्दैआउनुभएकी सल्यानको कपुरकोटकी सीता पुनले गत वर्ष रु २५ हजार आम्दानी गर्नुभयो । स्थानीयबाट खरिद गरेर बेचेको काफलबाट एउटा याममा रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको कपुरकोटमा व्यापार गर्दै आउनुभएकी निमा पुनले बताउनुभयो । उहाँका दुई छोरीले पनि विद्यालयमा बिदा भएको समयमा काफल टिपेर बिक्री गर्ने गरेको बताउनुभयो ।    
    
ग्रामीण भेगका विपन्न बालबालिकाले जङ्गलमा गएर काफल टिपेर बजार लगेर बेच्ने गर्दछन् । यसबाट भएको आम्दानीले उनीहरु कापी, किताब, कलमलगायत सामग्री किन्ने गरेका छन् । रासस   

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update