RayNewsDaily
वरिष्ठ घाँसे तथा दोहोरी गायक दल बहादुर डंगोलको निधन

रमेश हतुवाली/काठमाडौं । वरिष्ठ घाँसे तथा दोहरी गायक दलबहादुर डंगोलको ह्रदयघातबाट निधन भएको छ । पारिवारिक स्रोतका अनुसार डंगोलको शुक्रबार साँझ काठमाडौंको बाँसबारीस्थित सहीद गङ्गालाल हृदयरोग केन्द्रमा निधन भएको हो । हृदयघात भएपछि अस्पताल पुर्याईएका डंगोललाई चिकित्सकले निधन भएको घोषणा गरेका थिए । डंगोल ८५ वर्षका हुनुहुन्थ्यो । पारिवारीका स्रोतका अनुसार उहाँको शुक्रबारै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको थियो । लोकप्रिय गायक डङ्गोलको निधनले लोक गायनको क्षेत्रमा ठूलो क्षति पुगेको सम्बन्धित क्षेत्रका महानुभावहरुले प्रतिक्रिया दिएका छन् ।

नुवाकोट जिल्लाको थान्सिङ, छहरेमा स्थायी बसोबास भएका डंगोल २०३२ सालतिर जागिरको खोजीमा काठमाडौं पस्नु भएको थियो । २७ वर्षसम्म सरकारी जागिर खाएर अवकाश भएपछि डंगोल गाइपालनमा लाग्नु भएको थियो । सल्लाघारीको हावा र ढुंगेधाराको पानीको निक्कै चर्चा भएपछि काठमाडौं महानगरपालिका वडा नम्वर १६ बोहराटारमा २०५५ सालमा डंगोल घडेरी किनेर त्यही घर बनाई बस्न थाल्नु भयो । पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालमा निक्कै चर्चामा रहनु भएका दलबहादुर डंगोल नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनलाई गहिरोसंग विश्लेषण गर्नुहुन्थ्यो । काठमाडौं उपत्यका संसारकै सुन्दर शहरमध्ये एक शहर भएपनि अव्यवस्थित बसोबास र लापरवाहीले यहाँको स्वच्छता र सुन्दरता मासिएकोमा उहाँँ चिन्तित हुनुहुन्थ्यो । 

रे टेलिभिजनलाई पटक पटक अन्तरवार्ता दिनुभएका वरिष्ठ गायक डंगोल शासन फेरिए पनि गाउँ नफेरिएको बताउनुहुन्थ्यो । डंगोलका घाँसेगीत, काँठेगीत, लोकगीत र दोहोरी गरी झण्डै ५० वटा चर्चित गीतहरु चर्चामा रहेका छन् । 

वरिष्ठ गायक दलबहादुर डंगोलको आत्माको चिर शान्तिको कामना गर्दै रे न्यूज डेली उहाँका सम्पूर्ण परिवरजन र शुभचिन्तकहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update