RayNewsDaily
पत्रकार आचार्यलाई चीनमा उत्कृष्ट सम्मान

रमेश हतुवाली/काठमाडौ । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली विभाग (हाल चाईना मिडिया ग्रुप) मा विदेशी भाषा विशेषज्ञका रुपमा कार्यरत पत्रकार चेतनाथ आचार्यलाई उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान प्रदान गरिएको छ । 

चिनियाँ अनुवादक संघले नेपाली पत्रकार तथा लेखक आचार्यलाई चीनका महत्वपूर्ण दस्तावेजहरुलाई नेपाली भाषामा अनुवाद गरेर प्रकाशित गरेवापत सो सम्मान प्रदान गरेको हो । 

Samman_11712312153.jpg

गत शनिबार चीनको हुनान प्रान्तको सदरमुकाम छाङ्सामा आयोजित विशेष समारोहमा पत्रकार आचार्यलाई उक्त सम्मान प्रदान गरिएको हो । पत्रकार आचार्यसँगै सो सम्मानबाट जापान, अल्जेरिया, जर्मनी र स्पेनका विशेषज्ञलाई पनि सम्मानीत गरिएको थियो । 

Samman_31712312221.jpg

“यो पुरस्कारले मलाई अझैबढी हौसला, जोश र जाँगर थपेको छ । मेरो कामको मूल्याङ्कन गर्ने विशिष्ट चिनियाँ विद्वान, काम गर्ने वातावरण मिलाउने समग्र पक्ष र मलाई प्रत्यक्ष अथवा परोक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।” आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । 

पत्रकारिता क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशील आचार्य विगत १० वर्षदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा कार्यरत हुनुुहुन्छ । आख्यान र गैरआख्यान गरी आचार्यले सातवटा कृति प्रकाशित गरिसक्नु भएको छ । आचार्यको पछिल्लो कृति ‘नयाँ युगमा चीन’ हो ।

विक्रम सम्वत २०२९ सालमा इलाम जिल्लाको नयाँ बजारमा जन्मनु भएका आचार्य तत्कालीन रेडियो पेकिङका पुराना र लोकप्रिय श्रोता मध्येका एक हुनुहुन्थ्यो । चिनियाँ अन्तर्राष्ट्रिय रेडियोबाट विशेष पुरस्कार प्राप्त गरि चीनको भ्रमण गर्नुभएका आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद् नेपालका पूर्वअध्यक्ष पनि हुनुहुन्छ । आचार्यले केही वर्ष चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई)को नेपाल सम्वाददाताको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।  

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update