भारत भ्रमणका सहमति कार्यान्वयन गर्न सरकारको समन्वय सुरु
  • प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका सहमति र समझदारी कार्यान्वयन प्रक्रिया अघि बढाइयो ।
  • भ्रमणका उपलब्धिबारे १२ वटा ‘क्यारोसेल ग्राफिक्स’ सामाजिक सञ्जालमार्फत सार्वजनिक ।
  • साउदी अरबमा आक्रमणमा परी घाइते चार नेपालीमध्ये एकको मृत्यु, दुई जनाको उपचार जारी ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णय कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायहरूसँग समन्वय सुरु गरेको छ ।

प्रधानमन्त्री शाहले यही मङ्सिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा नेपाल–भारत संयुक्त दृष्टिपत्र दस्तावेजसहित विभिन्न विषयमा आपसी सहमति, समझदारी तथा महत्त्वपूर्ण निर्णय भएका थिए ।

उक्त दस्तावेजमा उल्लेखित विषयलगायत अन्य महत्त्वपूर्ण सहमति, समझदारी र निर्णयलाई दुई देश तथा नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी कार्यान्वयनमा लैजान मन्त्रालयले काम अघि बढाइसकेको जनाएको छ ।

सम्बन्धित मन्त्रालय तथा निकायबाट समझदारीपत्र र सहमति कार्यान्वयन गर्ने तथा त्यसको समयसमयमा अनुगमन गर्ने कार्य परराष्ट्र मन्त्रालयबाट निरन्तर हुने मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री-शाह-र-प्रधानमन्त्री-मोदीबीच-उच्चस्तरीय-द्विपक्षीय-वार्ता-सम्पन्न   ---Copy-1795437679.jpeg
मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो, “सर्वसाधारण नागरिक सबैले बुझ्न सक्नेगरी सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा भएका उपलब्धिसम्बन्धी १२ वटा ‘क्यारोसेल ग्राफिक्स’ तयार गरी हाम्रो सामाजिक सञ्जालमार्फत पनि सेयर गरिसकेका छौँ ।”

विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रवक्ता क्षेत्रीले साउदी अरेबियालगायत पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई सरकारले नजिकबाट नियालिरहेको बताउनुभयो ।

“कुनै पनि समस्याको समाधान शान्तिपूर्ण वार्ता र कूटनीतिक माध्यमबाट हुनुपर्ने र कुनै पनि बहानामा जीउज्यान र निजी सम्पत्ति एवं सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने विषयलाई हामीले विशेष जोड दिन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

साउदी अरबको ‘किङ अब्दुल्ला फाइनान्सियल डिस्ट्रिक्ट’ अन्तर्गत रहेको पब्लिक इन्भेस्टमेन्ट फन्ड टावर र जजान क्षेत्रमा भएका पछिल्ला दुई आक्रमणमा परी चार जना नेपाली नागरिक घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि रियादस्थित अस्पताल लगिएकामा एक जनाको निधन भएको, एक जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्कनुभएको र बाँकी दुई जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता क्षेत्रीले भन्नुभयो, “शव नेपाल ल्याउने विषयमा नेपाली राजदूतावास, रियादबाट आवश्यक समन्वय सुरु भइरहेको पनि जानकारी गराउँदछौँ ।”

उक्त क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्थानीय सरकार र सम्बन्धित नेपाली राजदूतावासबाट जारी गरिएका सुरक्षासम्बन्धी मार्गदर्शन, सूचना तथा जानकारी पूर्णरूपमा पालना गर्न मन्त्रालयले विशेष अनुरोध गरेको छ ।

सो अवसरमा प्रवक्ता क्षेत्रीले नेपाल र जापानबीच सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ यस वर्ष विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको जानकारी दिनुभयो ।

सात दशक लामो मैत्रीपूर्ण सम्बन्ध आपसी सौहार्दता, पारस्परिक विश्वास एवं द्विपक्षीय सहयोगमा आधारित रहँदै आएको छ । यस अवधिमा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, पर्यटन, शिक्षा तथा संस्कृतिलगायतका क्षेत्रमा सहकार्य र आदानप्रदान थप विस्तार हुँदै गएको उहाँले बताउनुभयो ।

यसैगरी, मन्त्रालयले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी नाका पूर्णरूपमा अवरुद्ध रहेको अवस्थामा नेपाल–चीन तातोपानी–झाङमु नाका सञ्चालन गर्न भइरहेका प्रयासबारे पनि जानकारी गराएको छ ।

उक्त नाका ठूला मालवाहक ट्रक तथा कन्टेनरका लागि खुला गर्नेलगायत अन्य नाकाबाट आवागमन सहज बनाउन चीन सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update