- रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य कार्यान्वयन गर्ने नेपालको प्रतिबद्धता ।
- कुनै पनि अवस्थामा रासायनिक हतियारको विकास, उत्पादन र प्रयोगको विपक्षमा नेपाल ।
- विज्ञान तथा प्रविधिका नयाँ चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्यमा जोड ।
काठमाडौँ । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने तथा रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य र सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को सदस्य राष्ट्रहरूको सम्मेलनको ३१औँ अधिवेशनमा बेनेलक्स मुलुकका लागि नेपाली राजदूत तथा ओपिसिडब्ल्युका लागि नेपालका स्थायी प्रतिनिधि सेवा लम्सालले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले निरस्त्रीकरण र अप्रसारलाई नेपालको परराष्ट्र नीतिका आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै विश्व शान्ति, शान्तिपूर्ण सहअस्तित्व र अन्तरराष्ट्रिय सहयोगका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याउनुभएको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाल कुनै पनि परिस्थितिमा रासायनिक हतियारको विकास, उत्पादन, प्राप्ति, भण्डारण, प्रसार तथा प्रयोगको विपक्षमा रहेको राजदूत लम्सालले बताउनुभयो ।
उहाँले अतिकम विकसित मुलुकमा संस्थागत, प्राविधिक तथा जनशक्तिको क्षमता अभिवृद्धि गर्न रासायनिक हतियार निषेध सङ्गठनको निरन्तर सहयोग, तालिम तथा क्षमता विकास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कृत्रिम बौद्धिकता र जैविक प्रविधिलगायत विज्ञान तथा प्रविधिमा भइरहेका नयाँ विकासले निम्त्याउन सक्ने चुनौती सम्बोधन गर्न निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा नेपालले जोड दिएको दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस
