- चलचित्र स्टुडियो निर्माणमा देखिएको अवरोध हटाउन सञ्चारमन्त्रीको पहल ।
- स्थानीयको भावना र प्राकृतिक सौन्दर्य संरक्षणलाई प्राथमिकता दिन निर्देशन ।
- चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र निर्माण थाल्ने सरकारको लक्ष्य ।
काभ्रेपलाञ्चोक । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण प्रस्ताव गरिएको अत्याधुनिक इनडोर चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’ को निर्माण प्रक्रिया अघि बढाउन पहल गर्नुभएको छ ।
मन्त्री तिमिल्सिनाले आज प्रस्तावित स्टुडियो निर्माणस्थलको निरीक्षण गर्दै भौगोलिक तथा प्राविधिक अवस्था, वातावरणीय प्रभाव र स्थानीय सरोकारबारे जानकारी लिनुभएको हो । उहाँले राष्ट्रिय महत्त्वको परियोजनालाई थप ढिलाइ नगरी स्थानीय बासिन्दाको भावना र वातावरणीय पक्षलाई सम्मान गर्दै अघि बढाउनुपर्ने बताउनुभयो ।
निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा चलचित्र विकास बोर्डका पदाधिकारीसँग छलफल गर्दै उहाँले विकास आयोजनाबाट कसैलाई अन्याय हुन नहुने तर केही व्यक्तिको असहमतिका कारण राष्ट्रिय महत्त्वका परियोजना अनिश्चितकालसम्म रोकिन नहुने धारणा राख्नुभयो ।
“परियोजना बन्दा कसैलाई अन्याय हुनु हुँदैन । स्थानीय बासिन्दाको भावना र सरोकारलाई सम्मान गर्नुपर्छ । तर राष्ट्रिय महत्त्वको परियोजना केही व्यक्ति वा परिवारको असहमतिका कारण सधैँ रोकिने अवस्था पनि हुनु हुँदैन । कानुनी प्रक्रिया, स्थानीयको हित र राष्ट्रिय आवश्यकताबीच सन्तुलन कायम गरेर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले चलचित्र स्टुडियो निर्माणलाई भौतिक संरचनामा मात्र सीमित नराखी स्थानीय आर्थिक गतिविधि, रोजगारी, पर्यटन र चलचित्र क्षेत्रको विकाससँग जोडेर हेर्नुपर्ने बताउनुभयो । स्टुडियो सञ्चालनमा आएपछि कलाकार, चलचित्रकर्मी, प्राविधिक तथा पर्यटकको आवागमन बढ्ने र होटल, यातायातलगायत स्थानीय व्यवसाय विस्तार हुने उहाँको भनाइ थियो ।
“यहाँ चलचित्र स्टुडियो निर्माण भयो भने यो क्षेत्र एउटा महत्त्वपूर्ण आकर्षणको केन्द्र बन्न सक्छ । त्यसबाट सिर्जना हुने रोजगारी, व्यवसाय र आर्थिक गतिविधिको लाभ स्थानीय बासिन्दाले पनि पाउँछन् । आयोजनाको प्रत्यक्ष लाभ मात्र होइन, अप्रत्यक्ष लाभसमेत हेर्नुपर्छ,” उहाँले भन्नुभयो ।
करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको ‘सिनेपा’ स्टुडियोको सुरुआती डिजाइनअनुसार संरचना बनाउन स्थानीयले अवरोध गरेपछि डिजाइन परिवर्तन गर्नुपर्ने वा नपर्ने विषयमा चलचित्र विकास बोर्डले अध्ययन गरिरहेको छ । बोर्डका अनुसार प्रारम्भिक प्राविधिक अध्ययनले निर्माणका लागि करिब एक लाख घनमिटर माटो व्यवस्थापन गर्नुपर्ने देखाएको छ । बोर्डका अध्यक्ष मनिष पण्डितले स्टुडियो निर्माणका लागि हालसम्म भएको प्रगति र देखिएका चुनौतीबारे मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
सुरुआती डिजाइन परिवर्तन गर्दा ठूलो परिमाणमा माटो कटान गर्नुपर्ने देखिएकाले वातावरणीय प्रभाव र प्राकृतिक सौन्दर्य संरक्षणमा विशेष ध्यान दिनुपर्ने मन्त्री तिमिल्सिनाले बताउनुभयो । डाँडाको भौगोलिक बनावट परिवर्तन हुँदा प्राकृतिक दृश्यमा समेत असर पर्न सक्ने भएकाले निर्माणको वैकल्पिक स्वरूप र स्थानबारे पुनः अध्ययन गर्न उहाँले निर्देशन दिनुभयो ।
“यो ठाउँको प्राकृतिक सौन्दर्य निकै आकर्षक देखियो । तर संरचना निर्माणका लागि डाँडा खार्नुपर्ने अवस्था रहेछ । त्यसले यहाँको प्राकृतिक स्वरूपमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ । सम्भव भएसम्म प्राकृतिक सौन्दर्य जोगाउँदै निर्माण गर्न सकिने विकल्प खोज्नुपर्छ,” उहाँले भन्नुभयो ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने कार्यक्रम समावेश गरिएको थियो । सोही योजनाअन्तर्गत २०८२ वैशाखमा शिलान्यास गरिएको ‘सिनेपा’ स्टुडियोमा इन्डोर तथा आउटडोर दुवै प्रकारका संरचना निर्माण गर्ने योजना छ ।
इन्डोर क्षेत्रमा अस्पताल, प्रहरीचौकी, कारागार तथा ठूला भवनका भित्री दृश्य छायाङ्कन गर्न मिल्ने स्थायी र पोर्टेबल सेट निर्माण गरिनेछ । त्यस्तै, आउटडोर क्षेत्रमा नेपाली चलचित्रको इतिहास अध्ययन गर्न चलचित्र सङ्ग्रहालय, पुस्तकालय, पटकथा लेखन तथा निर्देशन कक्ष र चलचित्रसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सभाहल निर्माण गर्ने योजना रहेको छ ।
मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र स्टुडियो निर्माण थाल्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभयो । यस विषयमा संसद्मा समेत प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै उहाँले सरकार र चलचित्र विकास बोर्डको प्रयाससँगै स्थानीय सरकार तथा समुदायको सहयोग पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो ।
“मैले संसद्मा पनि यो वर्ष चलचित्र स्टुडियो बनाउने प्रतिबद्धता व्यक्त गरिसकेको छु । तर सरकार र बोर्डले चाहेर मात्रै सबै कुरा सम्भव हुँदोरहेनछ । स्थानीय सरकार, स्थानीय बासिन्दा र अन्य सरोकारवाला पक्षको पनि भूमिका हुन्छ । विगतका कमजोरीबाट सिकेर साझा समझदारीका साथ अब कार्यान्वयनमा जानुपर्छ,” उहाँले भन्नुभयो ।
छलफलका क्रममा स्थानीय जनप्रतिनिधिले परियोजना निर्माणमा स्थानीय सरकारको सहयोग रहेको र पहुँचमार्ग निर्माणलगायतका काममा सहजीकरण भइरहेको जानकारी गराउनुभएको थियो । सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीय बासिन्दासँग समन्वय गरेर आयोजना अघि बढाउनुपर्नेमा उहाँहरूको जोड थियो ।
मन्त्री तिमिल्सिनाले स्थानीयका जायज माग र सरोकार सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै आयोजनाबाट स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने विषयमा संवाद र समझदारी निर्माण गर्न आग्रह गर्नुभयो । रासस
