- दोस्रो दिन पौडीमा चार नयाँ राष्ट्रिय कीर्तिमान कायम ।
- बागमती प्रदेश नौ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा ।
- दुई दिनमा पौडीका विभिन्न स्पर्धामा छ राष्ट्रिय कीर्तिमान बने ।
कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीको दोस्रो दिन चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । प्रतियोगितामा बागमती प्रदेशले नौ स्वर्ण पदक जित्दै पदक तालिकामा शीर्ष स्थान कायम गरेको छ ।
बाँकेको नेपालगञ्जस्थित पौडी पोखरीमा जारी प्रतियोगितामा पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अभिव प्रधान, महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहरा र पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
पुरुष ४०० मिटरमा अर्थव सिंहले स्वर्ण पदक जित्ने क्रममा आफ्नै कीर्तिमान तोड्दै चार मिनेट ५६ दशमलव ७६ सेकेण्डको नयाँ कीर्तिमान कायम गर्नुभयो । यसअघि सन् २०२५ मा उहाँले चार मिनेट ५८ दशमलव ३४ सेकेण्डको कीर्तिमान बनाउनुभएको थियो । उक्त स्पर्धामा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले पाँच मिनेट सात दशमलव ५७ सेकेण्डमा दूरी पूरा गर्दै रजत र बागमतीका अरिक कर्माचार्यले पाँच मिनेट २६ दशमलव ९९ सेकेण्डमा दूरी पूरा गर्दै कास्य पदक जित्नुभयो ।
महिलातर्फ ८०० मिटर फ्रिस्टायलमा लिली बोहराले स्वर्ण जित्ने क्रममा नौ मिनेट ३४ दशमलव ०६ सेकेण्डको नयाँ कीर्तिमान बनाउनुभयो । यसअघि सन् २०२५ मा नेपाल आर्मी क्लबकी डुआना लामाले १० मिनेट ०६ दशमलव ९२ सेकेण्डको कीर्तिमान कायम गर्नुभएको थियो । लिलीले स्वर्ण जित्दा डुआनाले आफ्नै पुरानो कीर्तिमान सुधार गर्दै नौ मिनेट ५९ दशमलव ५४ सेकेण्डमा दूरी पूरा गरी रजत र पुलिसकी देभान्सी जोशीले १० मिनेट ५८ दशमलव ५८ सेकेण्डमा दूरी पूरा गरी कास्य पदक जित्नुभयो ।
बागमती प्रदेशका अभिव प्रधानले पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा एक मिनेट ०१ दशमलव ५१ सेकेण्डको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जित्नुभयो । यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले एक मिनेट ०३ दशमलव ३९ सेकेण्डको कीर्तिमान बनाउनुभएको थियो । उक्त स्पर्धामा बागमतीका रिभान्तबहादुर श्रेष्ठले एक मिनेट चार सेकेण्डमा दूरी पूरा गर्दै रजत र आर्मीका जादेन श्रेष्ठले एक मिनेट ०४ दशमलव ०३ सेकेण्डमा दूरी पूरा गर्दै कास्य पदक जित्नुभयो ।
पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबको टोलीले आठ मिनेट ३२ दशमलव १३ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको नौ मिनेट १७ दशमलव ६८ सेकेण्डको कीर्तिमानलाई पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।
महिला ५० मिटर बटरफ्लाईमा एनआरएनएकी मिखा काया थापाले ३० दशमलव ७८ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जित्नुभयो । नेपाल प्रहरीकी देभान्सी जोशीले ३२ दशमलव ८८ सेकेण्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकी इरा अमात्य र आर्मीकी शिसोम्बुन राईले समान ३३ दशमलव ५६ सेकेण्डमा दूरी पूरा गर्दै संयुक्त कास्य पदक जित्नुभयो ।
पुरुष ५० मिटर बटरफ्लाईमा बागमतीका अभिव प्रधानले २६ दशमलव ०७ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण, पुलिसका इर्भिन श्रेष्ठले २७ दशमलव १४ सेकेण्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीका सौरेनबहादुर सिंह र असिम भण्डारीले समान २७ दशमलव ३२ सेकेण्डमा दूरी पूरा गर्दै संयुक्त कास्य पदक जित्नुभयो ।
महिला २०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले दुई मिनेट १४ दशमलव ०३ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण, आर्मीकी डुआना लामाले दुई मिनेट १४ दशमलव ४२ सेकेण्डमा दूरी पूरा गर्दै रजत तथा एनआरएनएकी मिखा काया थापाले दुई मिनेट १९ दशमलव ६८ सेकेण्डमा दूरी पूरा गर्दै कास्य पदक जित्नुभयो ।
पुरुष २०० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले एक मिनेट ५९ दशमलव ४८ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण, पुलिसकै काल्किन श्रेष्ठले दुई मिनेट ०० दशमलव ८३ सेकेण्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीका अल्भिन महर्जनले दुई मिनेट ०५ दशमलव ०० सेकेण्डमा दूरी पूरा गर्दै कास्य पदक जित्नुभयो ।
महिला १०० मिटर ब्याकस्ट्रोकमा बागमतीकी आर्या महर्जनले एक मिनेट ११ दशमलव ९५ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण, एनआरएनएकी मिखा काया थापाले एक मिनेट १३ दशमलव ६२ सेकेण्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकी रोयल प्रजापतिले एक मिनेट १४ दशमलव ४३ सेकेण्डमा दूरी पूरा गर्दै कास्य पदक जित्नुभयो ।
महिला ४ गुणा १०० मिटर मिड्ले रिलेमा बागमतीले पाँच मिनेट ०५ दशमलव ६९ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण, प्रहरीले पाँच मिनेट ११ दशमलव ७१ सेकेण्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले पाँच मिनेट १५ दशमलव ८५ सेकेण्डमा दूरी पूरा गर्दै कास्य पदक जित्यो ।
मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले दुई मिनेट ०२ दशमलव ४६ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण, आर्मीले दुई मिनेट ०४ दशमलव ११ सेकेण्डमा दूरी पूरा गर्दै रजत तथा प्रहरीले दुई मिनेट ०७ दशमलव ०८ सेकेण्डमा दूरी पूरा गर्दै कास्य पदक हासिल गरेको छ ।
प्रतियोगिताको दोस्रो दिनसम्मको पदक तालिकामा बागमती प्रदेश नौ स्वर्ण, चार रजत र छ कास्य गरी कुल १९ पदकसहित शीर्ष स्थानमा छ । एनआरएनए छ स्वर्ण, एक रजत र दुई कास्य गरी नौ पदकसहित दोस्रो तथा नेपाल पुलिस क्लब तीन स्वर्ण, सात रजत र आठ कास्य गरी १८ पदकसहित तेस्रो स्थानमा छ ।
चौथो स्थानमा रहेको आर्मीले दुई स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको सुदूरपश्चिमले एक स्वर्ण र दुई रजत गरी तीन पदक तथा कोशी प्रदेशले एक स्वर्ण पदक जित्दै छैटौँ स्थानमा रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको दोस्रो दिनसम्म पौडीका विभिन्न स्पर्धामा कुल छ राष्ट्रिय कीर्तिमान बनेका छन् । पहिलो दिन पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै कीर्तिमान सुधार गर्दै ३० दशमलव ६४ सेकेण्डको नयाँ कीर्तिमान कायम गर्नुभएको थियो । महिलातर्फ ४०० मिटर आइएममा एनआरएनएकी लिली बोहराले पाँच मिनेट १७ दशमलव ०१ सेकेण्डको नयाँ कीर्तिमान बनाउनुभएको थियो । रासस
