नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट नयाँ युगको आवश्यकताअनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताउनुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहले द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि आज हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकारसम्मेलनमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सम्भावनाका नयाँ ढोका खोल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको स्नेह, प्रेम र सद्भाव लिएर आफू भारत भ्रमणमा आएको उल्लेख गर्दै मैत्रिपूर्ण निमन्त्रणा र न्यानो आतिथ्यका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्नुभयो ।
पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धका मूल आधार रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अतुलनीय र अपरिमित यस सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको बताउनुभयो । नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको तथा यस्तो आत्मीय निकटतालाई शब्दमा सीमित गर्न नसकिने उहाँको भनाइ थियो ।
विश्वसनीय छिमेकीका रूपमा भारतले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा अग्रपङ्क्तिमा रहेर नेपाललाई सहयोग गर्दै आएको स्मरण गर्दै उहाँले त्यसका लागि भारत सरकार र भारतीय जनताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
द्विपक्षीय सहकार्य र विकास साझेदारी
प्रतिनिधिमण्डलस्तरीय वार्तामा शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र समयानुकूल बनाउने उद्देश्यले द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा गहन, सार्थक र दूरगामी छलफल भएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो ।
वार्ताका क्रममा नेपाल-भारत सहकार्यका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी हुनुका साथै पूर्वाधार आयोजनाको उद्घाटन र शिलान्यास भएको उहाँले बताउनुभयो ।
आज भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्ने, युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्ने, विद्यार्थीका सपनामा नयाँ सम्भावना विस्तार हुनुपर्ने तथा उद्यमीले नयाँ बजार, लगानी र व्यावसायिक विस्तारका अवसर प्राप्त गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिनुभयो ।
यी उपलब्धिले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै उहाँले चिरस्थायी सम्बन्धको बलियो जगमा भविष्यका लागि थप मजबुत आधार निर्माण गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।
जलवायु परिवर्तन र सांस्कृतिक सम्बन्ध
हिमालयबाट प्राप्त स्वच्छ जलस्रोतले यस क्षेत्रका करोडौँ मानिसलाई जीवन प्रदान गरिरहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले हाम्रा हिमालयबाट बगेर गङ्गामा मिसिने नदीहरूले दुवै देशको साझा भविष्य र गन्तव्यलाई जोडेको बताउनुभयो । जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकतासमेत उहाँले औँल्याउनुभयो ।
नेपाल र भारतबीचको सम्बन्ध भगवान् श्रीराम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा गाँसिएको उल्लेख गर्दै उहाँले यस सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवाको शुभारम्भ गरिएको जानकारी दिनुभयो ।
पुर्खाले स्थापित गरेको बलियो ऐतिहासिक जगलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने उहाँको भनाइ थियो । यसले नयाँ पुस्ताका लागि सम्भावनाका ढोका खोल्ने प्रधानमन्त्री शाहले विश्वास व्यक्त गर्नुभयो ।
लगानी, शिक्षा र हवाई सम्पर्क विस्तार
प्रधानमन्त्री शाहले साझा आर्थिक समुन्नतिमा साझेदारी गर्न भारतीय लगानीकर्तालाई नेपालमा स्वागत गर्नुभयो । आगामी दिनमा नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीले समेत अध्ययन गर्न सक्ने वातावरण बनाउनुपर्ने र दुवै देशका नागरिकको सहज आवागमनका लागि दुवैतर्फका सहरहरूबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
दुवै देशको समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उद्देश्यसहित तयार पारिएको साझा दृष्टिपत्र तथा दुई देशका साझा उपलब्धि समेटिएको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरिने पनि प्रधानमन्त्री शाहले जानकारी दिनुभयो । रासस
