बैसरी-रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी-रिसिनचौतारी सडक स्तरोन्नति सुरु भएको छ ।    
    
पूर्वाधार विकास कार्यालयले जैसीखोर-खहरेखोला–रिसिनचौतारी सडक योजनाअन्तर्गत बैसरी-रिसिनचौतारी खण्ड स्तरोन्नति गर्न लागेको हो । सडक फराकिलो पार्ने, ग्रेड र घुम्ती सुधार गर्ने, टेवा पर्खाल तथा नाली निर्माण गर्ने र ग्राभेल तथा ढलान गर्ने काम योजनामा समेटिएको छ ।    
    
 रु तीन करोड ३५ लाख छ हजार ४८० लागतमा निर्माण सम्पन्न गर्ने गरी गत साउन ४ गते अङ्कित एन्ड जेनिशा साहना जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ साउन ४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।    
    
 कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजेश उलकका अनुसार एक हजार ८०० मिटर सडक नालीसहित छ मिटर चौडा बनाइनेछ । त्यसमध्ये ६१० मिटर सडक ढलान र एक हजार १९० मिटर ग्राभेल गरिनेछ । योजनाअन्तर्गत ९९० घनमिटर ग्याबियन पर्खाल र एक हजार ६४९ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिनेछ ।    
    
 निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले पहिलो चरणमा एक हजार २०० मिटर सडक फराकिलो पार्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले तीन महिनाभित्र काम सक्ने लक्ष्यसहित उपकरण परिचालन गरेको छ । लक्ष्यअनुसार काम सम्पन्न गर्न थप मजदुर र निर्माण सामग्रीको व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।    
    
 यो सडकले रघुगङ्गा गाउँपालिका–२ र ३ लाई कालीगण्डकी करिडोरसँग जोड्छ । कालीगण्डकी करिडोरको घुमाउनेताल–बैसरी खण्डको वैकल्पिक मार्गका रूपमा विकास गर्ने र स्थानीयवासीको आवागमन सहज बनाउने उद्देश्यले योजना सञ्चालन गरिएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । रासस   

 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update