अजयकुमार साह/धनुषा । मिथिलाञ्चलका गाउँबस्तीमा साँझ पर्नासाथ हातमा रङ्गीचङ्गी माटाका आकृति राखिएको बाँसको डाला, त्यसमा बलिरहेको दियो र समूहमा गुञ्जिने लोकगीतले वातावरण नै उल्लासमय बन्छ । युवती तथा महिलाहरूको सामूहिक स्वरमा गुञ्जिने सामा-चकेवाका गीतले दाजुभाइप्रतिको माया, दिदीबहिनीबीचको आत्मीयता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मिथिलाको सांस्कृतिक परम्परालाई जीवन्त बनाउँछ ।
मिथिलाञ्चलमा छठ पर्वसँगै सुरु हुने सामा–चकेवा केवल मनोरञ्जन वा धार्मिक अनुष्ठान मात्र होइन, यो प्रेम, समर्पण, त्याग र पारिवारिक सम्बन्धको भावनात्मक अभिव्यक्ति पनि हो । माटोका विभिन्न आकृतिलाई पात्र बनाएर गीत र संवादमार्फत कथा प्रस्तुत गरिने यो परम्परा मिथिलाको विशिष्ट गीति लोकनाट्यका रूपमा परिचित छ ।
कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने सामा–चकेवा पर्व पूर्णिमासम्म ११ दिन मनाइन्छ । यस अवधिमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरू राति समूहमा भेला भएर सामा–चकेवा खेल्ने गर्छन् । उनीहरूले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्परागत गीत गाउँछन् ।
पर्वको पहिलो दिन महिलाहरूले दाजुभाइको हातबाट माटो खनेर ल्याउने परम्परा छ । त्यही माटोबाट सामा, चकेवा, चुगला, सतभइया, वनतितर, झाँझी कुकुरलगायत विभिन्न पात्रका आकृति बनाइन्छन् । माटाका ती आकृति सुकाएपछि विभिन्न रङले सजाएर बाँसको डालामा राखिन्छ । राति दियो बालेर ती आकृति गाउँका चौक, चौराहा, दोबाटो तथा सार्वजनिक स्थानमा लगिन्छन् । त्यसपछि सामूहिक रूपमा गीत गाउने, नाच्ने र माटाका पात्रलाई संवादमार्फत जीवन्त बनाउने गरिन्छ ।
मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष तथा संस्कृतिविद् रामभरोस कापडीका अनुसार सामा–चकेवा पर्व दिदीबहिनीले दाजुभाइको दीर्घायु र समृद्धिका लागि गर्ने सांस्कृतिक अनुष्ठान हो । यसमा गीत, सङ्गीत, नाटकीय प्रस्तुति र लोकविश्वासको सुन्दर संयोजन रहेको छ । उहाँका अनुसार अन्य लोकनाट्यमा मानिसले पात्रका रूपमा अभिनय गर्छन् भने सामा–चकेवामा माटाका आकृतिलाई पात्र बनाएर महिलाहरूले गीत र संवादमार्फत कथा प्रस्तुत गर्छन् । यस क्रममा ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ र ‘सामचको सामचको अइहा हो, अइहा हो, गुँढ खेतमे भसिया हो’ जस्ता लोकगीत गाइन्छन् । यी गीतमा दाजुभाइप्रतिको माया, पारिवारिक सम्बन्ध, सामाजिक जीवन र प्रकृतिप्रतिको आत्मीयता अभिव्यक्त भएको पाइन्छ ।
माटाका पात्रमा जीवन्त हुन्छ लोकनाट्य
सामा–चकेवा पर्वको सबैभन्दा विशिष्ट पक्ष माटाका आकृतिमार्फत कथा प्रस्तुत गरिनु हो । यसमा सामा र चकेवा मुख्य पात्रका रूपमा रहन्छन् । सामा स्त्री पात्र र चकेवा पुरुष पात्र हुन् । यसबाहेक चुगला, ढोलिया, भरिया, सतभइया, खजंचिडैया, वनतितर, झाँझी कुकुर, भैया बटतकनी, मलिनियाँ र वृन्दावनजस्ता पात्र पनि बनाइन्छन् । यी पात्रले मिथिलाको सामाजिक, पारिवारिक तथा प्राकृतिक जीवनका विभिन्न पक्षलाई प्रतिनिधित्व गर्छन् । समाजमा चुक्ली गर्ने र सम्बन्ध बिगार्ने प्रवृत्तिलाई चुगलाले प्रतिनिधित्व गर्छ भने वृन्दावनले वन तथा प्रकृतिसँगको सम्बन्धलाई उजागर गर्छ ।
माटाका सबै आकृति एउटै डालामा राखेर महिलाहरूले गीत गाउँदै नचाउँछन् । गीतका शब्द र भावअनुसार पात्रहरूलाई चलायमान बनाइन्छ । कतिपय प्रसङ्गमा चुगलाको मुख आगोले पोल्ने र वृन्दावनमा आगो लगाउने अभिनयसमेत गरिन्छ । ‘वृन्दावनमे आगि लागल, केओ ने मिझाबे हे’ जस्ता गीतले लोकनाट्यलाई थप भावनात्मक बनाउँछन् । सामा–चकेवा माटाका मूर्तिको पूजा मात्र नभई गीत, अभिनय, संवाद र सामूहिक सहभागितामा आधारित मौलिक लोकनाट्य हो । महिलाहरू यसका कलाकार मात्र होइनन्, उनीहरू नै कथाका सूत्रधार र प्रस्तोता पनि हुन् ।
परम्परा र विधिविधान
सामा–चकेवा पर्वको सुरुआतसँगै माटाका विभिन्न पात्र बनाउने काम सुरु हुन्छ । चुगलाको आकृति बनाउन माटोको ढिस्कोसँगै सनपाट प्रयोग गरिन्छ, जसले पछि आगो लगाउन सहज बनाउँछ । त्यसैगरी वृन्दावन बनाउन सुकेको राडी घाँस बाँधेर आकृति तयार गरिन्छ । राति खाना खाइसकेपछि महिलाहरू तथा बालिकाहरू आ–आफ्नो घरबाट दियो बालिएको डाला लिएर निस्कन्छन् । उनीहरू समूहमा भेला भएर गीत गाउँदै सामा–चकेवालगायतका पात्रलाई दुबो टिपेर खान दिन्छन् । शीतलाई पानीको प्रतीक मानेर पात्रहरूलाई खुवाउने परम्परा पनि छ ।
त्यसपछि सबैले आफ्ना डाला गोलाकार रूपमा राखेर गीत गाउँदै वरिपरि घुम्छन् । गीतको क्रमसँगै विभिन्न पात्रको कथा प्रस्तुत गरिन्छ । चुगलाको मुख पोल्ने र वृन्दावनमा आगो लगाउने विधिले लोकनाट्यलाई थप रोचक बनाउँछ । यो क्रम पूर्णिमासम्म हरेक रात दोहोरिन्छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरका अवकाश प्राप्त शिक्षक तथा पुरोहित लालबाबु झाका अनुसार पर्वको अन्तिम दिन बिहानै माटाका आकृतिलाई पुनः रङरोगन गरी सुकाइन्छ । साँझपख दहीचिउरा खुवाएर सामा चकेवाबाट दाजुभाइको फार भराउने र दाजुभाइबाट सामा–चकेवाका आकृति फुटाउन लगाउने परम्परा छ ।
त्यसपछि दिदीबहिनीहरूले बाजागाजा र गीतनादसहित सामा–चकेवाका आकृतिलाई गाउँबाहिर खेत वा जलाशयमा लगेर विसर्जन गर्छन् । विसर्जनपछि दाजुभाइलाई दहीचिउरा तथा पकवान खुवाएर उनीहरूको दीर्घायु र समृद्धिको कामना गरिन्छ । यसरी पर्वको विधिवत् समापन हुन्छ । क्षीरेश्वरनाथ नगरपालिका–२ की ३२ वर्षीया अनिता यादवका अनुसार छठ पर्वको खरना विधि गरिने दिनदेखि नै सामा–चकेवाको तयारी सुरु हुन्छ । छठको तयारीसँगै महिलाहरूले सामा–चकेवाका लागि आवश्यक माटो, बाँसको डाला, रङ र अन्य सामग्रीको जोहो गर्छन् । उहाँका अनुसार सामा–चकेवा खेल्ने क्रममा गाउँका महिलाहरूबीच भेटघाट, सामूहिकता र आत्मीयता बढ्ने गरेको छ ।
पुराणसँग जोडिएको सामा–चकेवाको कथा
सामा–चकेवा पर्वको उत्पत्तिबारे विभिन्न धार्मिक तथा सांस्कृतिक मान्यता प्रचलित छन् । यसको चर्चा पद्मपुराण र स्कन्दपुराणमा समेत पाइने संस्कृतिविद्हरू बताउँछन् । मैथिली संस्कृतिका जानकार प्राध्यापक अरुण चौधरीका अनुसार प्रचलित पौराणिक कथाअनुसार सामा अर्थात् श्यामा भगवान् कृष्णकी छोरी थिइन् । उनका पति चारुवक्य थिए । उनीहरूबीचको प्रेम र सम्बन्धमा चुगलाले गलत सूचना दिएपछि विवाद उत्पन्न भएको थियो ।
कथाअनुसार चुगलाको कुरा सुनेर भगवान् कृष्णले आफ्नी छोरी श्यामालाई चराको रूप धारण गर्ने श्राप दिएका थिए । आफ्नी बहिनीको अवस्था थाहा पाएपछि उनका दाजु साम्बले बहिनीलाई पूर्ववत् अवस्थामा फर्काउन कठोर तपस्या गरे । उनको तपस्याबाट प्रसन्न भएर कार्तिक पूर्णिमाका दिन बहिनीले पुनः पुरानै स्वरूप प्राप्त गरेको धार्मिक मान्यता छ ।
पत्नी श्यामाको वियोग सहन नसकेर उनका पति चारुवक्य पनि चराको रूप धारण गरी उनीसँगै बस्न थालेको कथामा उल्लेख छ । उनीहरू बसेको वृन्दावनमा विरोधीहरूले आगो लगाएर दुःख दिने प्रयास गरे पनि दाजुको तपस्या र सहयोगबाट अन्ततः उनीहरू पुनः मानव रूपमा फर्किएको किंवदन्ती छ । यसरी सामा–चकेवाको मूल कथामा पति–पत्नीबीचको प्रेम, समर्पण र दाजुभाइको सहयोगको प्रसङ्ग जोडिएको पाइन्छ । कालान्तरमा मौखिक परम्परामार्फत कथाको स्वरूप परिवर्तन हुँदै जाँदा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता नै यस पर्वको मुख्य भावका रूपमा स्थापित भएको संस्कृतिविद्हरूको भनाइ छ ।
लोकगीतमा प्रतिबिम्बित मिथिलाको जनजीवन
समाजशास्त्री पुनम चौधरी भन्नुहुन्छ, “सामा–चकेवा पर्वका गीतमा मिथिलाको सामाजिक जीवन, पारिवारिक सम्बन्ध, प्रकृति, प्रेम र मानवीय संवेदना प्रतिबिम्बित हुन्छन् । यी गीत पुस्तौँदेखि मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका छन् ।’’ महिलाहरू घरबाट सामा–चकेवाका आकृति राखिएको डाला बोकेर निस्कँदा गाउने गीतले पनि यस पर्वको सांस्कृतिक महत्त्व उजागर गर्छ ।
‘डालाले बहार भेली, बहिनो से फलाँ बहिनो’ जस्ता गीतमा दिदीबहिनीले आफ्नो डाला र त्यसमा राखिएका आकृतिको महत्त्व प्रस्तुत गर्छन् । गीतको संवादमा भाइले डाला हराएको गुनासो गर्ने र त्यसमा के–कस्ता सामग्री सजाइएको थियो भनेर सोध्ने प्रसङ्गसमेत आउँछ । यसले लोकगीतमा पारिवारिक संवाद र नाटकीयताको सुन्दर संयोजन रहेको देखाउँछ ।
पर्वको अन्तिम दिन सामा–चकेवा विसर्जन गरेर फर्किने क्रममा गाइने ‘समदाउनी’ गीत विशेष भावुक मानिन्छ । यस गीतमार्फत सामालाई अर्को वर्ष पुनः आउने निमन्त्रणा दिँदै बिदाइ गरिन्छ । यसले पर्वको समापनलाई समेत भावनात्मक र सांस्कृतिक महत्त्व प्रदान गर्छ । सामा–चकेवाका गीतमा जनकपुर र मिथिलाको सामाजिक तथा सांस्कृतिक जीवनका प्रसङ्ग पनि समेटिएका छन् । यसले मिथिलाको ऐतिहासिक पहिचान, स्थानीय जीवनशैली र लोकसंस्कृतिको समृद्धिलाई उजागर गर्छ ।
नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने सांस्कृतिक सम्पदा
मिथिलाञ्चलमा सामा–चकेवा पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई आत्मीय बनाउनुका साथै सामूहिकता, सहकार्य र सांस्कृतिक एकतालाई पनि बलियो बनाउँदै आएको छ । विशेषगरी महिलाहरूको सक्रिय सहभागितामा मनाइने यो पर्वले उनीहरूलाई आफ्नो कला, सिर्जनशीलता र सांस्कृतिक पहिचान प्रस्तुत गर्ने अवसर प्रदान गर्छ ।
क्षीरेश्वरनाथ नगरपालिका–२ की अनिता यादवका अनुसार सामा–चकेवा पर्वमा गाउँका महिला तथा किशोरीहरू एकै ठाउँमा भेला भएर गीत गाउने, माटाका आकृति बनाउने र परम्परागत विधि पूरा गर्ने गर्छन् । यसले नयाँ पुस्तालाई आफ्नो भाषा, लोकगीत र संस्कृतिबारे सिक्ने अवसरसमेत प्रदान गरेको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी, बारा र पर्सालगायत मधेसका जिल्लामा विशेष उत्साहका साथ मनाइने सामा–चकेवा सीमावर्ती भारतीय क्षेत्र बिहारका सीतामढी, मधुबनी, दरभङ्गा र मुजफ्फरपुरलगायत स्थानमा पनि लोकप्रिय छ ।
माटाका आकृति, बाँसको डाला, दियो, लोकगीत र सामूहिक नृत्यको माध्यमबाट प्रस्तुत हुने सामा–चकेवा मिथिलाको अमूर्त सांस्कृतिक सम्पदाको महत्वपूर्ण उदाहरण हो । यसले केवल दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धको कथा मात्र सुनाउँदैन, समाजमा प्रेम, सद्भाव, सहअस्तित्व र पारिवारिक एकताको सन्देशसमेत प्रवाह गर्छ ।
आधुनिकताको प्रभावसँगै परम्परागत लोकगीत र सांस्कृतिक अभ्यासहरू ओझेलमा पर्न सक्ने अवस्थामा सामा–चकेवाजस्ता पर्वको संरक्षण र प्रर्वद्धन आवश्यक देखिन्छ । विद्यालय, स्थानीय तह, सांस्कृतिक संस्था र नयाँ पुस्ताको सहभागितामार्फत यसको मौलिकता जोगाउनसके मिथिलाको पहिचान बोकेको यो विशिष्ट लोकनाट्य आगामी पुस्तासम्म जीवन्त रहन सक्ने उद्देश्य बोकेर पछिल्लो केही वर्षदेखि मैथिली विकास कोषले सामाचकेवा महोत्सव आयोजना गर्दै आएको छ ।
यस वर्ष पनि मङ्सिर ५ गते देखि जानकी मन्दिर प्राङ्गणमा सामाचकेवा प्रतियोगिताको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभएको छ । कोषका अध्यक्ष चौधरीले सामा–चकेवा मिथिला सांस्कृतिमा भाइबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउने सांस्कृतिक रहेकोले यसलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आफूहरूले महोत्सव आयोजना गर्दै आएको बताउनुभयो । रासस
