काठमाडौँ (रोशन के.सी.) । प्रकृतिको विशालता, हजारौँ वर्ष पुरानो घुमन्ते सभ्यता, बौद्ध धर्मको ऐतिहासिक विरासत, आधुनिक औद्योगिक प्रविधि र योजनाबद्ध शहरी विकास । चीनको उत्तरी भूभागमा अवस्थित भित्री मङ्गोलिया स्वायत्त प्रान्तले यी सबै विशेषतालाई एउटै भूगोलमा समेटेको छ । राजधानी होहोटका ऐतिहासिक सम्पदादेखि ओर्दोेसको विशाल घाँसे मैदान, कुबुछीको सुनौलो मरुभूमि र परम्परागत शैली र आधुनिक शहर मिश्रण बोकेको काङ्बासीसम्मको यात्राले भित्री मंगोलियाको विविधता र विकासको अर्को आयामसँग परिचित गराउँछ ।
परिचयः चीनको फरक भूगोल, फरक पहिचान
चीन भन्नासाथ धेरैको मनमा पैचिङको ग्रेटवाल, शाङहाइका अग्ला भवन, छन्दुको पाण्डा र आधुनिक प्रविधिले भरिएका शहरको चित्र आउँछ । तर चीनको भौगोलिक, सांस्कृतिक र प्राकृतिक विविधता यतिमा मात्र सीमित छैन । विशाल क्षेत्रफलमा फैलिएको यस देशको उत्तरी भूभागमा एउटा यस्तो क्षेत्र छ, जहाँ प्रकृतिको विशालता र मानव सभ्यताको प्राचीन इतिहास आज पनि उत्तिकै जीवन्त छ । त्यो हो भित्री मङ्गोलिया स्वायत्त प्रान्त ।
चीनको उत्तरी सीमावर्ती क्षेत्रमा अवस्थित भित्री मङ्गोलिया क्षेत्रफलका हिसाबले चीनका ठूला प्रशासनिक क्षेत्रमध्ये एक हो । यसको क्षेत्रफल करिब ११ लाख ८३ हजार वर्ग किलोमिटर छ । यसको क्षेत्रफल नेपालको क्षेत्रफल भन्दा करिब ८ गुणा ठुलो छ । उत्तरमा मङ्गोलिया र रुससँग अन्तर्राष्ट्रिय सीमा जोडिएको यस क्षेत्रले चीनको उत्तरी भूगोलमा महत्त्वपूर्ण स्थान ओगटेको छ । भित्री मङ्गोलियाको भौगोलिक बनावट अत्यन्त विविध छ । यहाँ विशाल घाँसे मैदान, मरुभूमि, पहाडी भूभाग, नदी उपत्यका र वन क्षेत्र पाइन्छन् । भनिन्छ यहाँ एकै पटक चार मौसमको अनुभुव गर्न सकिन्छ । यही भौगोलिक विविधताले यहाँको जनजीवन, आर्थिक गतिविधि, सांस्कृतिक परम्परा र पर्यटनलाई आकार दिएको छ ।
यस क्षेत्रको पहिचानसँग मङ्गोलियन समुदायको इतिहास र घुमन्ते जीवनशैली गहिरो रूपमा जोडिएको छ । पुस्तौँदेखि पशुपालन, घोडचढी, परम्परागत सङ्गीत, नृत्य, धनुषबाण र प्रकृतिसँगको सामीप्य यहाँको जीवनशैलीका अभिन्न पक्ष रहँदै आएका छन् । तर आजको भित्री मङ्गोलिया परम्परागत पशुपालन र घाँसे मैदानमा मात्र सीमित छैन । आधुनिक उद्योग, दुग्ध उत्पादन, ऊर्जा, प्रविधि, शहरी विकास र पर्यटनले यस क्षेत्रको आर्थिक तथा सामाजिक स्वरूपमा नयाँ आयाम थपेका छन् । यही विविधतालाई नजिकबाट बुझ्ने अवसर हो भित्री मङ्गोलियाको यो भ्रमण ।
होहोटसम्मको यात्रा र भ्रमण
होहोट भित्री मङ्गोलिया स्वायत्त प्रान्तको राजधानी हो । मङ्गोलियन भाषामा होहोटको अर्थ नीलो शहर भन्ने हुन्छ । यो शहर क्षेत्रको राजनीतिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकसित भएको छ । होहोटको ऐतिहासिक विकास मङ्गोलियन तथा चिनियाँ सभ्यताको अन्तरसम्बन्धसँग जोडिएको छ । यहाँका पुराना धार्मिक स्थल, व्यापारिक केन्द्र, परम्परागत बस्ती र आधुनिक पूर्वाधारले विभिन्न कालखण्डको इतिहासलाई प्रतिनिधित्व गर्छन् ।
होहोटसँगै भित्री मङ्गोलियाको इतिहास बुझ्न र यहाँको उद्गम जान्नका लागि उपयुक्त स्थान हो भित्री मङ्गोलिया सङ्ग्रहालय ।
भित्री मङ्गोलिया सङ्ग्रहालयः विगतको दस्तावेज
कुनैपनि क्षेत्रको वास्तविक पहिचान बुझ्न त्यसको इतिहास जान्नु आवश्यक हुन्छ । भित्री मङ्गोलियाको इतिहास र सांस्कृतिक विकासलाई बुझ्ने महत्त्वपूर्ण स्थान हो, भित्री मङ्गोलिया सङ्ग्रहालय । होहोटस्थित यस सङ्ग्रहालयमा क्षेत्रको प्राकृतिक इतिहास, पुरातात्त्विक सम्पदा, जीवाश्म, प्राचीन सभ्यता र विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनसँग सम्बन्धित सामग्रीहरू सङ्कलित छन् । विशेषगरी आन्तरिक मङ्गोलिया प्रागैतिहासिक जीवाश्म तथा डायनासोरका अवशेषका लागि पनि महत्त्वपूर्ण क्षेत्र मानिन्छ । सङ्ग्रहालयमा रहेका प्राकृतिक इतिहाससम्बन्धी सामग्रीले लाखौँ वर्षअघिको पृथ्वीको भौगोलिक अवस्था र यहाँको जैविक विविधताबारे जानकारी दिन्छन् । यहाँ भित्री मङ्गोलियामा भेटिएका विभिन्न प्रजातीका जीवाश्महरुको राखिएका छन् । विशेष गरि लोप भइसकेका थल, जल र आकाशमा पाइने डायनासोरहरुको जीवाश्म यहाँ राखिएको छ । जुन यहाँ मुख्य आर्कषण मध्ये एक हो ।
यसका साथै प्राचीन मानव सभ्यता, विभिन्न राजवंशको प्रभाव, घुमन्ते समुदायको जीवनशैली, परम्परागत पोसाक, हस्तकला, धार्मिक विश्वास र सामाजिक संरचनासँग सम्बन्धित प्रदर्शनीले यस क्षेत्रको ऐतिहासिक यात्रालाई प्रस्तुत गर्छन् । मङ्गोलियन समुदायको इतिहास बुझ्दा घोडाको महत्त्वलाई अलग गर्न सकिँदैन । घोडा यहाँ केवल यातायातको साधन थिएन । पशुपालन, व्यापार, युद्ध, सञ्चार र दैनिक जीवनको महत्त्वपूर्ण आधार थियो। घुमन्ते जीवनशैलीमा घोडा र अन्य पशुधनको भूमिकाले समाजको आर्थिक तथा सांस्कृतिक संरचनालाई नै प्रभावित गरेको थियो ।
यसका अलावा यहाँ पाइने विभिन्न प्रजातिका पशुपक्षी, घरपालुवा जनावर, भेडा बाख्राहरुको जानकारी पनि संग्रहित गरि राखिएको छ ।
सङ्ग्रहालयमा प्रस्तुत सामग्रीहरूले यस्ता ऐतिहासिक पक्षलाई बुझ्न मद्दत गर्छन् । यस अर्थमा यो केवल पुराना वस्तुहरू राखिएको स्थान होइन, भित्री मङ्गोलियाको सामूहिक स्मृति र पहिचान सुरक्षित गर्ने महत्त्वपूर्ण सांस्कृतिक संस्था हो ।
यिली मोडर्न इन्टेलिजेन्ट हेल्थ भ्यालीः परम्परागत पशुपालनदेखि आधुनिक दुग्ध उद्योगसम्म
भित्री मङ्गोलियाको अर्को महत्त्वपूर्ण पक्ष हो औद्योगिक विकास र आधुनिक प्रविधिसँग कृषिजन्य क्षेत्रमा आएको परिर्वतन । जसको ज्वलन्त उदाहरण हो, यिली मोडर्न इन्टेलिजेन्ट हेल्थ भ्याली ।
दुग्ध उत्पादनको राजधानीको रुपमा परिचित यिली विश्व परिचित छ । यहाँको दुग्ध उत्पादनहरु संसारका विभिन्न देशहरुको जाने गर्दछन् भने चीनभरि यो एक नम्बरमा पर्दछ ।
भित्री मङ्गोलिया चीनको प्रमुख दुग्ध उत्पादन क्षेत्रमध्ये एक हो । यहाँको विशाल घाँसे मैदान, पशुपालनका लागि उपलब्ध प्राकृतिक स्रोत र कृषि तथा पशुपालनको परम्पराले दुग्ध उद्योगको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
यही आधारलाई आधुनिक प्रविधिसँग जोडेर विकसित गरिएको औद्योगिक संरचना हो यिली हेल्थ भ्याली ।
यिली ग्रुप चीनको प्रमुख दुग्ध उत्पादन कम्पनीमध्ये एक हो । सन् १९९३ मा स्थापना भएको यस कम्पनीले दूध, दही, आइसक्रिम, दूध पाउडर तथा विभिन्न पोषणयुक्त खाद्य सामग्री उत्पादन गर्दै आएको छ । यिलीको आधुनिक औद्योगिक संरचनामा उत्पादन मात्र होइन, अनुसन्धान, गुणस्तर परीक्षण, प्रविधिको विकास, पशुपालन व्यवस्थापन र आपूर्ति शृङ्खलालाई पनि एकीकृत गरिएको छ । यसको विशेषता भनेको उत्पादन प्रक्रियामा डिजिटल प्रविधि, स्वचालित मेसिन, रोबोटिक प्रणाली र आधुनिक व्यवस्थापनको प्रयोग हो । यहाँ दुग्ध उत्पादनका लागि रोबोट र एआइको प्रयोग गरिएको छ । जसले सामान्य दुधबाट विभिन्न उत्पादनहरुको त्यसलाई विकसित गरि फिलिङ, प्याकेजिङ र स्टोरिङ सबै कार्यहरु रोबोटको माध्यमबाट सञ्चालान हुन्छ । भने यहाँ उत्पादित हरेक उत्पादनको जाँच र परिक्षण प्रयोगशालामा विज्ञहरुबाट गरिन्छ ।
दुग्ध उत्पादनको सुरुवात पशुपालनबाट हुन्छ । पशुलाई दिइने आहार, स्वास्थ्य परीक्षण, दूध सङ्कलन, प्रशोधन, प्याकेजिङ र बजारसम्म पुर्याउने प्रक्रियामा गुणस्तर कायम राख्नु यस उद्योगको मुख्य चुनौती हो । आधुनिक प्रविधिको प्रयोगले यी प्रक्रियालाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन सहयोग पुर्याउँछ । डिजिटल प्रणालीमार्फत पशुको पहिचान, दूधको गुणस्तर परीक्षण तथा उत्पादन प्रक्रियाको निगरानी गर्न सकिन्छ । यिलीको आधुनिक औद्योगिक संरचनामा स्वचालित उत्पादन लाइन, रोबोटिक उपकरण र डिजिटल व्यवस्थापन प्रणाली प्रयोग गरिन्छ । कम्पनीले आफ्नो औद्योगिक विकासलाई दुग्ध तथा पोषणसम्बन्धी अनुसन्धानसँग पनि जोड्दै आएको छ ।
नेपालजस्तो कृषि तथा पशुपालनमा सम्भावना भएको देशका लागि यस्तो औद्योगिक संरचना अध्ययनको विषय बन्न सक्छ । नेपालमा पनि दुग्ध उत्पादन र पशुपालनको ठूलो सम्भावना छ । तर उत्पादन, प्रशोधन, भण्डारण, गुणस्तर नियन्त्रण र बजार व्यवस्थापनमा अझै सुधार आवश्यक छ ।
भित्री मङ्गोलियाको अनुभवले परम्परागत पशुपालनलाई आधुनिक उद्योगसँग जोड्न सकिने सम्भावना देखाउँछ ।
मेङ्ल्यिाङ एथ्निक कस्टम्स पार्कः संस्कृति, हस्तकला र स्थानीय पहिचान
मेङ्ल्यिाङ एथ्निक कस्टम्स पार्क भित्री मङ्गोलियाको जातीय संस्कृति, परम्परागत हस्तकला, स्थानीय उत्पादन तथा खानपानसँग परिचित हुने महत्त्वपूर्ण गन्तव्य हो । मङ्गोलियन समुदायको सांस्कृतिक पहिचान केवल पोसाक र नृत्यमा सीमित छैन । उनीहरूको दैनिक जीवनमा प्रयोग हुने सामग्री, आवास निर्माण शैली, खानपान, धार्मिक अभ्यास, हस्तकला र परम्परागत सीपले पनि सांस्कृतिक पहिचानलाई जीवन्त राखेका छन् ।
मेङ्ल्यिाङ पार्कमा यस्ता पक्षलाई पर्यटन र सांस्कृतिक अनुभवसँग जोडिएको छ । यहाँ मङ्गोलियन हस्तकलाका सामग्री, परम्परागत उत्पादन, जातीय कलात्मक अभिव्यक्ति र स्थानीय खानपानको अवलोकन गर्न सकिन्छ । हस्तकलाले कुनैपनि समुदायको जीवनशैली र इतिहासलाई प्रतिनिधित्व गर्छ । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका सीप र प्रविधिले स्थानीय ज्ञानलाई सुरक्षित राख्छन् । आधुनिक बजारसँग जोडिँदा यस्ता सीपले स्थानीय समुदायको आयआर्जनमा पनि योगदान पुर्याउन सक्छन् । यस अर्थमा मेङ्ल्यिाङ जस्ता सांस्कृतिक पार्कहरूले परम्परागत पहिचानलाई पर्यटनसँग जोड्ने काम गर्छन् ।
ताचाओ बुद्ध मन्दिर: बौद्ध धर्म र ऐतिहासिक सम्पदाको जीवन्त केन्द्र
होहोटको ऐतिहासिक पहिचान बुझ्न ताचाओ मन्दिरको भ्रमण अर्को महत्त्वपूर्ण अनुभव हो । सन् १५८० मा मिङ वंशको शासनकालमा निर्माण सम्पन्न भएको ताचाओ मन्दिर भित्री मङ्गोलियाको पुरानो तथा महत्त्वपूर्ण तिब्बती बौद्ध मन्दिरमध्ये एक हो । यसलाई युलियाङ मन्दिर पनि भनिन्छ । स्थानीय रूपमा यो सिल्भर बुद्ध टेम्पल अर्थात् चाँदीको बुद्ध मन्दिरका नामले समेत परिचित छ । यसको मुख्य कारण मन्दिरभित्र स्थापित शाक्यमुनि बुद्धको चाँदीको मूर्ति हो । करिब २.५ मिटर अग्लो यस मूर्तिलाई मन्दिरको प्रमुख धार्मिक तथा ऐतिहासिक सम्पदाका रूपमा लिइन्छ ।
सन् १५८६ मा तेस्रो दलाई लामाले यस मूर्तिको धार्मिक प्रतिष्ठापन गरेको इतिहास उल्लेख पाइन्छ । त्यसपछि ताचाओ मन्दिर मङ्गोलियन क्षेत्रमा बौद्ध धर्मको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गयो । मन्दिरको वास्तुकला पनि विशेष अध्ययनयोग्य छ । यहाँ चिनियाँ हान शैली र तिब्बती बौद्ध वास्तुकलाको संयोजन देख्न सकिन्छ । मुख्य सभाकक्ष, बुद्धका मूर्ति, भित्तेचित्र, धार्मिक सामग्री र कलात्मक काष्ठ संरचनाले मन्दिरलाई ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण बनाएका छन् । मन्दिरभित्र रहेका सुनौलो स्तम्भमा कुँदिएका नागका आकृति, ऐतिहासिक भित्तेचित्र र धार्मिक सामग्रीले यसको कलात्मक पक्षलाई थप विशिष्ट बनाउँछन् । आन्तरिक मङ्गोलियाको धार्मिक इतिहासमा बौद्ध धर्मको प्रभाव बुझ्न ताचाओ मन्दिर महत्त्वपूर्ण स्थान हो । यसले चीनका तिब्बती र मङ्गोलियन समुदायबीचको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पनि प्रतिबिम्बित गर्छ ।
यहाँ नेपाली रञ्जना लिपिमा लेखिएका विभिन्न मन्त्रहरुको पनि देख्न पाइन्छ । यी मन्त्रहरुको यहाँ कसरी कसले लेखे भन्ने विषयमा प्रस्ट जानकारी नभएपनि यो नेपालीहरुका लागि गर्वको विषयमा बन्न सक्छन । नेपालीहरुका लागि यो गन्तव्य अझ विशेष अर्थ राख्न सक्छ । नेपाल बुद्ध जन्मस्थल लुम्बिनीको देश हो ।बौद्ध धर्मको ऐतिहासिक विस्तार, विभिन्न देशमा विकसित धार्मिक परम्परा र वास्तुकलाको विविधता अध्ययन गर्ने दृष्टिले दाचाओ मन्दिरको भ्रमण अर्थपूर्ण हुन्छ ।
साइशाङ ओल्ड स्ट्रिटः पुरानो व्यापारिक सभ्यताको झल्को
दाचाओ मन्दिरसँगै साइशाङ ओल्ड स्ट्रिट रहेको छ । ऐतिहासिक शैलीमा पुनर्निर्माण तथा संरक्षण गरिएको यस सडकले होहोटको पुरानो शहरी जीवन र व्यापारिक गतिविधिको झल्को दिन्छ ।
मन्दिरको आसपास विकसित पुराना व्यापारिक बस्तीहरू धार्मिक गतिविधिसँगै आर्थिक तथा सामाजिक अन्तरक्रियाका केन्द्र पनि थिए । विभिन्न क्षेत्रबाट आएका व्यापारी, स्थानीय बासिन्दा, धार्मिक यात्रु र हस्तकलाका उत्पादकबीचको कारोबारले यस्ता सडकको विकासमा भूमिका खेलेको थियो । साइशाङ ओल्ड स्ट्रिटमा परम्परागत वास्तुकलाका शैलीमा निर्माण गरिएका भवन, स्थानीय पसल, हस्तकलाका सामग्री, खानाका परिकार र पर्यटकीय गतिविधि देख्न सकिन्छ । यहाँ आउने यात्रुहरुले आफ्नो भ्रमणको यादलाई ताजा गर्न यहाँबाट विभिन्न किसिमका सामानहरु खरिद गर्ने गर्दछन् ।
पुरानो शहर को संरचना संरक्षण गर्नु केवल भवन जोगाउनु मात्र होइन । त्यससँग जोडिएका सामाजिक स्मृति, व्यापारिक इतिहास र सांस्कृतिक पहिचानलाई सुरक्षित राख्नु पनि हो । आधुनिक शहर विस्तार हुँदै जाँदा पुराना बस्तीको स्वरूप परिवर्तन हुने सम्भावना रहन्छ । त्यसैले ऐतिहासिक सडक र संरचनालाई व्यवस्थित रूपमा संरक्षण गर्दै पर्यटनसँग जोड्नु सांस्कृतिक सम्पदा व्यवस्थापनको महत्त्वपूर्ण पक्ष हो । साइशाङ ओल्ड स्ट्रिटले यही पक्षलाई प्रस्तुत गर्छ ।
चाओ ताचियानः कागज काट्ने कलामा सुरक्षित लोकसंस्कृति
भित्री मङ्गोलियाको अर्को विशिष्ट सांस्कृतिक पक्ष हो परम्परागत कागज काट्ने कला अर्थात् पेपर कटिङ । चीनमा चिनियाँ लेखन कला, कागज काट्ने कला लगायतका कुराहरु निकै प्रचलित छन् । त्यसको एक झल्को डालाट ब्यानरस्थित चाओ ताचियान अमूर्त सांस्कृतिक सम्पदा अनुभव केन्द्रमा पाइन्छ ।
चिनियाँ भाषामा पेपर कटिङलाई चिआन ची भनिन्छ । यो कागजलाई विभिन्न आकारमा काटेर कलात्मक आकृति बनाउने परम्परागत कला हो ।
यस कलाको इतिहास चीनको प्राचीन लोकजीवनसँग जोडिएको छ । विशेषगरी चाडपर्व, विवाह, नयाँ वर्ष, धार्मिक अवसर र घरको सजावटमा कागज काटेर बनाइएका आकृतिहरू प्रयोग गर्ने परम्परा पाइन्छ । रातो रङको कागजमा फूल, पशुपक्षी, मानिस, प्रकृतिका दृश्य, शुभचिह्न र विभिन्न सांस्कृतिक प्रतीकका आकृति बनाइन्छन् ।
यस कलाको विशेषता भनेको सामान्य देखिने कागजलाई कैँची वा विशेष धारिलो उपकरणको प्रयोगबाट अत्यन्त सूक्ष्म र कलात्मक आकृतिमा रूपान्तरण गर्नु हो । चाओ ताचियानको नामसँग जोडिएको यस केन्द्रको भ्रमणले स्थानीय लोककलाको संरक्षण र हस्तान्तरणबारे जानकारी प्राप्त गर्ने अवसर दिन्छ ।
यस सन्दर्भमा चाओ ताचियान अर्थात् चाओ मेइलिङको काम विशेष उल्लेखनीय छ । चीनको रोजगारसम्बन्धी आधिकारिक पोर्टलमा प्रकाशित विवरणअनुसार उनले बाल्यकालदेखि पारिवारिक परम्पराबाट पेपर कटिङ सिकेकी थिइन् । उनले परम्परागत सीपलाई ऐतिहासिक विषयवस्तु र लामो चित्रात्मक संरचनासँग जोड्दै नयाँ प्रयोग गरेकी छन् । उनको कृषि तथा घुमन्ते जीवनको महान् इतिहासु विषयक १ सय ६० मिटर लामो कागजी कलाकृतिले सन् २०१५ मा चीनको १५औँ जनसङ्ख्या तथा संस्कृति पुरस्कारअन्तर्गत लोककलाको विधामा प्रथम पुरस्कार प्राप्त गरेको थियो ।
यस्ता कलाकारले परम्परागत कलालाई व्यक्तिगत सीपबाट सामूहिक सांस्कृतिक सम्पदाको रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । आज आधुनिक प्रविधिको विस्तारसँगै परम्परागत लोककलाको अभ्यास चुनौतीमा पर्न सक्छ । तर यस्ता कला कार्यशाला र अनुभव केन्द्रले नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न तथा पर्यटकलाई स्थानीय संस्कृतिसँग प्रत्यक्ष जोड्न सहयोग पुर्याउँछन् ।
नेपालमा पनि मिथिला चित्रकला, थाङ्का, पौवा, काष्ठकला, धातुकला र कागजमा आधारित परम्परागत कलाका आफ्नै विशिष्ट परम्परा छन् । चीनको पेपर कटिङ र नेपालको परम्परागत चित्र तथा हस्तकलाबीच तुलना गर्दै लोककलाको संरक्षण र व्यावसायिक विकासबारे सिक्न सकिन्छ ।
कुबुछी मरुभूमिः सुनौलो धरातल
भित्री मङ्गोलिया स्वायत्त प्रान्तको ओर्दोस शहरअन्तर्गत डालाट ब्यानरमा अवस्थित कुबुछी मरुभूमि पूर्वी भागमा पर्छ । कुबुछी चीनको महत्त्वपूर्ण मरुभूमिमध्ये एक हो । यसको विशाल बालुवायुक्त भूभाग, प्राकृतिक वनस्पति, मरुभूमिसँग जोडिएका स्थानीय समुदाय र पारिस्थितिक अवस्थाले यस क्षेत्रलाई भौगोलिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण बनाएका छन् । क्षेत्रफलका हिसाबले १४ हजार वर्ग किलोमिटरमा फैलिएको कुबुछी हङकङ भन्दा करिब १७ गुणा ठुलो छ । कुबुछी चीनको सातौँ ठुलो मरुभूमि हो । भनिन्छ कुबुछी विशेषता भनेको अनुकूल वातावरणमा सुक्खा बालुवाका कणहरू एकअर्कासँग घर्षण हुँदा निस्कने विशेष ध्वनि हो । यही प्राकृतिक विशेषताका कारण यस स्थानलाई ह्विस्लिङ ड्युन बेु वा सुसाउने बालुवाको उपत्यका पनि भनिने गरिन्छ ।
मरुभूमिको विशाल भूभागमा अग्ला बालुवाका पहाडहरू देख्न सकिन्छ । हावाको बहावअनुसार बालुवाका आकृति परिवर्तन भइरहन्छन् । यही परिवर्तनशील प्राकृतिक दृश्यले मरुभूमिलाई अझ आकर्षक बनाउँछ । साथै बालुवा देखिने यात्रुहरुको पदचाप र विस्तारै हावालाई तिन पुर्दै गएको दृश्य निकै रमणिय देखिन्छ । कुबुछीको भ्रमणका क्रममा स्टेशनदेखि मरुभुमीसम्म केबलकारको प्रयोग गर्न सकिन्छ भने मरुभुमिमा दुईवटा पिठ्यु भएको उँटको सवारी, एटिभीको सवारी र मोन्स्टर ट्रकजस्ता गतिविधिमा सहभागी हुने व्यवस्था छ ।
चीनमा पनि सिमित रहेको दुईवटा पिठ्यु भएको उँटको सवारी यहाँ विशेष महत्वको रुपमा लिइन्छ । यी विशेष प्रजातिका उँटहरुको पछिल्लो अवस्था र यिनको संङ्ख्यालाई मध्यनजर गर्दै यिनीहरुको सवारी करिब ३–५ मिनेट गरिने व्यवस्था गरिएको छ । यसको उदेश्य मरुभूमिसँग जोडिएको परम्परागत यातायात र जीवनशैलीको अनुभव गराउनु मात्र हो । मरुभूमिमा उँटले लामो समयदेखि मानिसको आवागमन र सामान ढुवानीमा भूमिका खेल्दै आएको छ । आज त्यही परम्परागत अनुभव पर्यटनको आकर्षण बनेको छ।
अर्कोतर्फ, एटीभी र मोन्स्टर ट्रकजस्ता सवारी साधनले आधुनिक साहसिक पर्यटनको अनुभव प्रदान गर्छन् । विशाल बालुवाका ढिस्काबीच सवारी चलाउँदा मरुभूमिको भौगोलिक स्वरूप र रोमाञ्चक वातावरण दुवै अनुभव गर्न सकिन्छ ।
चीन सरकारले पराम्परा, इतिहासलाई आधुनिक र समयानुकुल प्रविधिसँग जोड्दै पर्यटन विकासमा गरेको लगानीको झल्को यहाँ देख्न पाइन्छ ।
ओर्दोस घाँसे मैदानः प्रकृति, संस्कृति र मङ्गोलियन आतिथ्यको अनुपम संसार
भित्री मङ्गोलियाको यात्राको सबैभन्दा प्रतीक्षित गन्तव्यहरूमध्ये एक हो घाँसे मैदानहरुको भ्रमण । मङ्गोलियन सभ्यताको ऐतिहासिक आधारको रुपमा घाँसे मैदानलाई लिइन्छ । यस्तै इतिहास, परम्परा, संस्कृति, घुमन्ते र कृषक संस्कारको आभुषणमा ओर्दाेस घाँसे मैदान सजिएको छ । यहाँको खुला भूभाग, प्राकृतिक वनस्पति, पशुपालन र मौसमी जीवनशैलीले स्थानीय समुदायको सामाजिक तथा आर्थिक संरचनालाई आकार दिएको छ ।
मङ्गोलियन घुमन्ते जीवनशैलीमा आवास, खानपान, पोसाक, यातायात र सामाजिक सम्बन्ध सबै प्रकृतिसँग नजिकबाट जोडिएका हुन्छन् । आँखाले देखेसम्म हरिया घाँसे मैदानहरु फैलिएका हुन्छन् । जहाँ घोडा, गाई, भेडा र बाख्रा चरिरहेका भेटिन्छन् । हिउँदको प्रवेशसँगै विस्तारै घाँसहरु सुक्न थाल्छन् । हरियो देखिने यी मैदान सुनौला बन्छन् । स्थानियहरुले यिनलाई सुनौलो घाँसे मैदान भनेर भन्ने गर्दछन् ।
यी घाँसे मैदानको जीवन शैली र रहनसहन आफ्नै किसिमको हुने गर्दछन् । यहाँको यस जीवनशैलीको सबैभन्दा परिचित प्रतीक हो गेर । यो गोलाकार संरचनामा तयार पारिने परम्परागत आवास हो, गेरलाई युर्त पनि भनिन्छ । काठको संरचना र कपडाको बाहिरी आवरणबाट तयार हुने यस्तो घरलाई आवश्यकताअनुसार एक स्थानबाट अर्को स्थानमा सार्न सकिन्छ । पशुपालन र मौसमी बसाइँसराइ गर्ने समुदायका लागि यो अत्यन्त उपयोगी आवासीय संरचना हो ।
गेरको निर्माण शैलीले मङ्गोलियन समुदायको वातावरणअनुकूल जीवनशैली र परम्परागत वास्तुकलाको ज्ञानलाई देखाउँछ ।
घुमन्ते समुदायको रुपमाय परिचित मङ्गोलियन समुदायहरुका लागि गेर निकै फाइदाजनक र सहज आवास हो । तर समयको परिवर्तनसँगै घुमिरहने समुदाय एकै ठाँउमा सिमित भएपछि यी गेरहरु पनि आधुनिक रुपमा बन्न थालेका छन् । यहाँ सिमेन्ट र रडहरुको प्रयोग गरेर गेरलाई पुरानै स्वरुपमा तर नयाँ प्रविधिमा बनाउन थालिएको छ । एक हरमा मिलेर बसेका गेरहरुले पुरानो समयमा बसेको मङ्गोलियन संस्कार र संस्कृतिको झल्को दिन्छन् ।
यस्तै यी घाँसे मैदानका अर्को रोचक पक्ष यहाँको चिया संस्कार पनि हो । आफैले पालेको गाईको विशेष प्रकारको मङ्गोलियन चिया यहाँ चाख्नै पर्नेपर्छ । दूध, चिया र नुनको प्रयोगबाट बनाइने परम्परागत चिया यहाँको दैनिक जीवनसँग जोडिएको पेयपदार्थ हो । चिसो मौसम र घाँसे मैदानको जीवनशैलीमा तातो दूधको चिया केवल पेय मात्र होइन, पाहुनालाई स्वागत गर्ने र आत्मीयता व्यक्त गर्ने माध्यम पनि हो । यहाँ चियामा विशेष किसिम तोरी जस्तो स-साना गेडाहरु पनि मिलाएर खाइन्छ, जसले चियाको स्वादमा फरकपना थप्छ ।

घाँसे मैदान र विशेष गरि मङ्गोलियन संस्कृतिसँग जोडिएको अर्को पक्ष हो, धनुषवाण । धनुषवाण भित्री मङ्गोलियाको परम्परागत खेलकुदको महत्त्वपूर्ण हिस्सा हो । ऐतिहासिक रूपमा घुमन्ते समुदायका लागि धनुषवाण सिकार, आत्मरक्षा र युद्धसँग जोडिएको सीप थियो । आज यो सांस्कृतिक खेल तथा प्रतियोगिताका रूपमा पनि प्रचलित छ । भने यहाँ यसलाई पर्यटनसँग पनि जोडिएको छ ।

मङ्गोलियन लिपि, भेडाका पाठापाठीलाई दाना खुवाउने अनुभवसँगै विशेषगरी तोरिहु अर्थात् परम्परागत नृत्य प्रस्तुति र मङ्गोलियन पोसाक लगाउने अनुभवले सांस्कृतिक भ्रमणलाई अझ जीवन्त बनाउँछ । मङ्गोलियन परम्परागत पोसाकलाई डेल भनिन्छ । यो लामो बाहुला, फराकिलो बनोट र कम्मरमा बाँधिने पेटी भएको विशेष प्रकारको पहिरन हो । मौसम र क्षेत्रअनुसार यसको बनावट, कपडा र रङमा विविधता पाइन्छ ।

पोसाक केवल शरीर ढाक्ने वस्तु होइन, समुदायको सामाजिक पहिचान, परम्परा र जीवनशैलीको प्रतीक पनि हो ।
काङ्बासीः मरुभूमि र घाँसे मैदानबाट आधुनिक शहरतर्फको यात्रा
ओर्दाेस घाँसे मैदानबाट काङ्बासी करिब १ सय ३० किलोमिटरको दूरी पार गरेपछि आधुनिक शहरी संरचनाका लागि परिचित काङ्बासी पुगिन्छ । चीन सरकारले मरुभूमीलाई कम गर्ने अभियान सुरु गरेपछि भित्री मङ्गोलिया मरुभूमिहरु विस्तारै हरिया, उर्वर र आधुनिक शहरमा रुपान्तरित हुँदै गएका छन् ।
काङ्बासी ओर्दोसको नयाँ शहरी विकासको महत्त्वपूर्ण उदाहरण हो । यो क्षेत्र प्राकृतिक स्रोतबाट प्राप्त आर्थिक सम्भावना, शहरी योजना, पूर्वाधार विकास र सांस्कृतिक संरचनाको संयोजनबाट विकसित भएको हो । सन् २००० को दशकको सुरुवातमा ओर्दोसले तीव्र शहरीकरणको योजना अघि सारेको थियो । सन् २००१ पछि नयाँ शहर विकासको अवधारणाले गति लियो भने सन् २००४ मा काङ्बासीको मुख्य निर्माण कार्य अघि बढ्यो ।
यसको उद्देश्य प्रशासनिक, आवासीय, सांस्कृतिक र सार्वजनिक पूर्वाधारलाई एकीकृत गरी व्यवस्थित शहरी केन्द्र निर्माण गर्नु थियो । काङ्बासीमा फराकिला सडक, सार्वजनिक खुला स्थान, व्यवस्थित भवन, सांस्कृतिक संरचना, सरकारी कार्यालय र आवासीय क्षेत्रहरू देख्न सकिन्छ । साथै यहाँ अत्याधुनिक सवारीसाधनहरु प्नि सञ्चालनमा छन् । यहाँ विना चालक गुड्ने गाडीहरु पनि सडक गुड्दछन् ।
यो शहरको विकासले आधुनिक चीनमा शहरीकरणको एउटा फरक अनुभव प्रस्तुत गर्छ । प्राकृतिक स्रोतबाट समृद्ध भएको क्षेत्रले कसरी आफ्नो आर्थिक आधारलाई आधुनिक शहरी संरचना र सेवा क्षेत्रमा विस्तार गर्न खोज्छ भन्ने कुरा यहाँबाट बुझ्न सकिन्छ ।
तर शहरी विकास भनेको भवन र सडक निर्माण मात्र होइन । जनसङ्ख्या, रोजगारी, सार्वजनिक सेवा, वातावरणीय सन्तुलन, सांस्कृतिक जीवन र आर्थिक गतिविधिबीचको सम्बन्धलाई पनि व्यवस्थापन गर्नु हो ।
चङगिज खान स्क्वायरः इतिहास र पुर्वजको सम्मान
ओर्दोसको काङबासी नयाँ शहरमा रहेको चङगिज खान स्क्वायर दक्षिण एसियाका सबैभन्दा ठुलो स्क्वायर हो । आफ्नो पुर्वज महान् राजा चङगिज खानको सम्मानमा बनाइएको यस चङगिज खान स्क्वायरमा चङगिज खानको जीवनसँग सम्बन्धित चार वटा विशाल मुर्तिहरु बनाइएका छन् । जसमा चङगिज खानको जन्म, बाल्यकाल, जवानी, विवाह, युद्ध र सफलताका सबै विषयलाई देखाइएको छ ।
मङ्गोलियन समुदाय पहिलो खान अर्थात् लिडरको रुपमा स्थापित चङगिज खानलाई मङ्गोलियन राज्य विस्तारको श्रेय जाने गर्दछ । इतिहासमा उनको जित, उनको निर्णय र उनको कार्यका बारेमा अनेकन टिकाटिप्पणी भएपनि भित्री मङ्गोलियामा चङगिजको दर्जा भगवानको जस्तै छ । उनको प्रतिमालाई यहाँ पुजा समेत गरिन्छ । आफ्नो कालमा उनको विश्वको ६५ प्रतिशत हिस्सा जितेको भनिन्छ तर यसमा भने विभिन्न मतविमत रहने गरिएको छ ।
ओर्दोसको काङबासीमा बनेको यो विशाल स्क्वायर र प्रतिमाहरुले भने भित्री मङ्गोलियामा रहेको उनको सम्मान, प्रतिष्ठा र यहाँको जनताहरुको उनी प्रतिको आस्थाको संकेत गर्दछ ।
भित्री मङ्गोलियाबाट नेपालले के सिक्न सक्छ?
भित्री मङ्गोलियाको भ्रमणलाई केवल पर्यटकीय अनुभवका रूपमा सीमित राख्नु उचित हुदैन । यहाँ देखिएका विभिन्न विकासका अभ्यास नेपालका लागि पनि अध्ययन र सिकाइका विषय बन्न सक्छन् ।
पहिलो, कृषि तथा पशुपालनलाई आधुनिक उद्योगसँग जोड्ने विषय हो । नेपालमा पशुपालन र दुग्ध उत्पादनको पर्याप्त सम्भावना छ । तर उत्पादनलाई प्रशोधन, प्याकेजिङ, गुणस्तर नियन्त्रण र बजार व्यवस्थापनसँग प्रभावकारी रूपमा जोड्न अझै धेरै काम गर्न सकिन्छ । यिलीको आधुनिक उत्पादन प्रणालीले यस क्षेत्रमा प्रविधिको महत्त्व देखाउँछ । जुन नेपाल जस्तो कृषि प्रदान देशले सिक्न जरुरी छ ।
दोस्रो, सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनबीचको सम्बन्ध हो । भित्री मङ्गोलियामा मङ्गोलियन संस्कृति, हस्तकला, पोसाक, नृत्य र खानपानलाई पर्यटकीय अनुभवसँग जोडिएको छ । नेपालले पनि आफ्नो जातीय तथा सांस्कृतिक विविधतालाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सक्छ ।
तेस्रो, प्राकृतिक भूगोलको जिम्मेवार उपयोग हो । कुबुछी मरुभूमिलाई पर्यटनको गन्तव्यका रूपमा विकास गरिएको छ । नेपालमा हिमाल, पहाड, ताल, नदी, वन र राष्ट्रिय निकुञ्जहरू पर्यटनका प्रमुख आधार हुन् । तर पर्यटन विकास गर्दा वातावरणीय सन्तुलन कायम राख्नु आवश्यक छ ।
चौथो, परम्परागत सीपको पुस्तान्तरण हो । पेपर कटिङजस्ता लोककलाको संरक्षणका लागि कार्यशाला, अनुभव केन्द्र र कलाकारलाई प्रोत्साहन गर्ने प्रणाली महत्त्वपूर्ण हुन्छ । नेपालका मौलिक कला, मुर्तिकला, लिपि, परम्परागत औषधि उपचार पद्धति र हस्तकलालाई पनि यस्तै अभ्यासमार्फत नयाँ पुस्तासम्म पुर्याउन सकिन्छ ।
पाँचौँ, योजनाबद्ध शहरी विकास हो । काङ्बासीको अनुभवले पूर्वाधार निर्माणसँगै सार्वजनिक सेवा, सांस्कृतिक संरचना, आवास र आर्थिक गतिविधिको समन्वय आवश्यक हुने कुरा स्मरण गराउँछ ।
यी विषयमा नेपाल र चीनबीच ज्ञान, अनुभव र प्रविधिको आदानप्रदानले थप सहकार्यका अवसर सिर्जना गर्न सक्छ ।
