काठमाण्डू । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको बताउनुभएको छ ।
तिहार (शुभ दीपावली), २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल विविध भाषा, संस्कृति, परम्परा, जातजाति र धार्मिक विश्वासले सुशोभित राष्ट्र भएको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले तिहारले यही विविधतालाई आत्मीय सम्बन्धको सूत्रमा बाँध्दै ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उल्लेख गर्नुभएको छ ।
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व रहेको जनाउँदै उपराष्ट्रपतिले काग तिहारले सूचना र सन्देश, कुकुर तिहारले निष्ठा र समर्पण, गाई तिहारले मातृत्व, समृद्धि र जीवनदायी संस्कृतिप्रतिको श्रद्धा र गोरु पूजाले श्रम, उत्पादन र कृषि सभ्यताको गौरवलाई उजागर गर्ने बताउनुभएको छ ।
“लक्ष्मी पूजाले समृद्धिसँगै सदाचार र सदुपयोगको सन्देश दिन्छ भने देउसी–भैलोले गाउँदेखि शहरसम्म सामूहिक आनन्द, सहकार्य र सामाजिक एकताको भावना बलियो बनाउँछ । भाइटीका (भ्रातृ द्वितीया) ले दाजुभाइ तथा दिदीबहिनीबीचको स्नेह, विश्वास र आजीवन आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्दछ”, उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
उपराष्ट्रपतिले तिहारका अवसरमा मधेसमा गोवद्र्धन पूजा, सामुहिक रुपमा खेलिने ‘हुक्का–लोली’ (हुक्कापाति) र ‘हुर्राहुरी’ जीवन्त लोकसंस्कृतिका अमूल्य प्रतीक भएको बताउनुभएको छ । गोवद्र्धन पूजाले कृषि, पशुपालन तथा प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्दछ भने हुक्का–लोली र हुर्राहुरीले गाउँघरमा आपसी सद्भाव, भाइचारा, सामुदायिक एकता र उत्सवधर्मितालाई बलियो बनाउने उहाँको भनाइ छ ।
यी परम्पराले मौलिक पहिचान, लोकजीवन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदालाई जीवन्त राख्दै सामाजिक सहअस्तित्व र सामूहिक आनन्दको सन्देश प्रवाह गर्ने उपराष्ट्रपतिको विश्वास छ ।
उपराष्ट्रपति यादवले तिहार दीप प्रज्वलनको पर्व मात्र नभई नेपाली सभ्यता, संस्कार, प्रकृतिप्रतिको सम्मान, पारिवारिक आत्मीयता र सामाजिक सहअस्तित्वको जीवन्त उत्सव भएको बताउनुभएको छ ।
“घर–आँगनमा बालिने दीपले अन्धकार मात्र हटाउँदैनन्, तिनले आशा, विश्वास, सद्भाव र मानवीय करुणाको उज्यालो पनि छर्दछन् । यही उज्यालोले निराशामाथि आशा, विभाजनमाथि एकता र स्वार्थमाथि मानवताको विजयको मार्ग प्रशस्त गर्दछ”, उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
प्रविधिको विकाससँगै मानवीय सम्बन्ध, सामाजिक मूल्य र सांस्कृतिक पहिचानलाई जोगाइराख्नु पनि हाम्रो साझा दायित्व बनेको उल्लेख गर्दै उपराष्ट्रपतले यस्ता पर्वले मौलिक संस्कृति, लोकपरम्परा, पारिवारिक मूल्य र सामुदायिक जीवनशैलीलाई संरक्षण तथा प्रवद्र्धनको अवसर प्रदान गर्ने बताउनुभएको छ । तिहारलाई केवल उत्सवका रूपमा नभई हाम्रो राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्धनसँग जोडेर हेर्न आवश्यक रहेको उपराष्ट्रपतिद्वारा जारी सन्देशमा जनाइएको छ ।
उपराष्ट्रपतिले आपसी वैमनस्यता, घृणा, विभेद र असहिष्णुताभन्दा माथि उठेर सहिष्णुता, सामाजिक न्याय, पारस्परिक सम्मान र राष्ट्रिय उत्तरदायित्वको भावना अभिवृद्धि गर्न प्रेरित गरोस् भनी कामना गर्नुभएको छ । उज्यालोको यस पर्वले सम्पूर्ण नेपालीलाई राष्ट्र निर्माणको साझा यात्रामा एकताबद्ध बनाउँदै समृद्ध, आत्मनिर्भर र सभ्य नेपालको सपना साकार पार्ने ऊर्जा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास छ ।
उपराष्ट्रपतिले तिहार पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक गौरव, लोकतान्त्रिक मूल्य, सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डताको भावनालाई अझ सुदृढ बनाउँदै देशलाई समुन्नति र समृद्धिको दिशामा अग्रसर गराओस् भनी कामना गर्नुभएको छ । रासस
