मौलिकता र आधुनिकतालाई सन्तुलित रूपमा अघि बढाउनुपर्नेमा सभापति थापाको जोड

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिकतालाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।    
    
नेपाल संवत् ११४७ को अवसरमा नागबहाल टोल सुधार समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासका क्रममा पुराना सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण र नयाँपनको अवलम्बनलाई सन्तुलित रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।    
    
ललितपुरका विभिन्न स्थानमा मौलिकता र आधुनिकतालाई सँगसँगै अघि बढाइएको देख्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै सभापति थापाले भौतिक सम्पदाभन्दा पनि समाजमा कायम प्रेम, सद्भाव, विश्वास र भाइचाराजस्ता अमूर्त सम्बन्ध बढी महत्त्वपूर्ण हुने बताउनुभयो ।    
    
टोल सुधार समितिजस्ता स्थानीय संस्थाले सामाजिक सम्बन्ध र सामुदायिक एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । नयाँपन भित्र्याउने नाममा कतिपय स्थानमा पुराना संरचना पूर्ण रूपमा भत्काउने र पुराना सम्पदा संरक्षण गर्ने क्रममा नयाँ विकासलाई स्थान नदिने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले दुवै पक्षबीच सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो ।    
    
नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने उल्लेख गर्दै उहाँले समाजलाई अघि बढाउन नकारात्मकताभन्दा सकारात्मक सोच र ऊर्जाको मात्रा बढाउनुपर्ने धारणा राख्नुभयो ।    
    
उहाँले नेपाली समाजलाई आफ्नो जरा, टोल, समुदाय, चाडपर्व र सामाजिक सम्बन्धसँग पुनः जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रविधि र डिजिटल संसारमा मात्र सीमित नभई मानिसबीच प्रत्यक्ष भेटघाट, आपसी संवाद र सामाजिक सम्बन्धलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।    
    
 स्थानीयस्तरमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रम सामान्य देखिए पनि सामाजिक एकता र सम्बन्ध विस्तारका दृष्टिले महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । रासस   

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update